जनकपुर बम काण्डको अभियोगमा सिरहा कारागारमा रहेका निलम्वित सभासद् सञ्जय साह काठमाडौँ कारागार सारिएका छन्। साहलाई बिहीबार राति सिरहा कारागारबाट काठमाडौँ सारिएको हो।
पछिल्लो २० दिनदेखि मधेसमा जारी आन्दोलनमा साहले जेलभित्रैबाट भूमिका निर्वाह गर्दै आएको आशङ्कामा काठमाडौँ सारिएको बताइएको छ। साहले जेलबाटै आफ्ना कार्यकर्ताहरुलाई आन्दोलनमा सघाउन निर्देशन दिने गरेको आशङ्का कारागार प्रशासनको रहेको थियो।
सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले साहलाई कैदीहरुको ठाउँसारी गर्ने नियमित प्रक्रियाअनुसार काठमाडौँ पठाइएको बताएका छन्।
मिथिला राज्यको माग गर्दै जनकपुरको रामानन्द चोकमा गरिएको शान्तिपूर्ण आन्दोलनमा पाँचजनाको ज्यान जाने गरी गराइएको बम विष्फोटको प्रमुख आरोपी साहलाई भनिएको छ। साह विगत एक वर्षदेखि सिरहा कारागारमा थिए। विसं २०६९ वैशाख १८ गते भएको उक्त बम विष्फोटमा परी पाँचजनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी मानिस घाइते भएका थिए। रासस