नेपाली कांग्रेस संसदीय दलले व्यक्तिगत रूपमा संशोधन प्रस्ताव नहाल्न निर्देशन दिए पनि सभासद् शेखर कोइरालाले शुक्रबार संविधानसभामा प्रस्ताव दर्ता गरेका छन्।
संविधानको मस्यौदामा केही मूलभूत विषयमा असहमति जनाउँदै उनले प्रस्ताव दर्तापछि सेतोपाटीसँग भने, ‘नेपाली कांग्रेसले मौलिकता गुमाउन लागेकाले मैले व्यक्तिगत रूपमै भए पनि प्रस्ताव राखेको हुँ।'
पार्टीले व्यक्तिगत रूपमा संशोधन नहाल्न निर्देशन दिएको बारे प्रश्न गर्दा मोरङ–७ बाट निर्वाचित सभास्द कोइरालाले भने, ‘पार्टीले भने पनि मैले पार्टीको मौलिकतै हराउन लागेकाले यो निर्णय गरेको हुँ।'
‘मैले हारेँ भने पनि लोकतन्त्रले जितोस् भन्ने मैले चाहेको हुँ,' उनले भने।
उनले राखेको प्रस्तावमा ‘धर्म निरपेक्षता' हताउने उल्लेख छ। राज्यको कुनै धर्म नहुने भएकाले धर्म निरपेक्षता पनि भनिरहनु नपर्ने तर्कसाथ उनले धर्मबारे संविधान मौन रहनुपर्ने तर्क गरे।
त्यसैगरी ‘बहुलवादमा आधारित' बहुदलीय व्यवस्था लेख्नुपर्ने उनको प्रस्ताव छ। ‘प्रतिस्पर्धात्मक बहदुलीय व्यवस्था' भनेरमात्र मस्यौदामा लेखेको देख्दा आफूलाई उत्तर कोरियाको संविधानमा पनि त्यस्तै उल्लेख भएको सम्झना भएको उनले बताए।
मस्यौदाको प्रस्तावनामा लेखिएको ‘समाजवादउन्मुख' हताउनुपर्ने तथा संवैधानिक अदालत स्थापनाको व्यवस्था नराखी सर्वोच्च अदालतभित्रै छुट्टै वेञ्चको व्यवस्था गर्नुपर्ने पनि उनले प्रस्ताव राखेका छन्।
त्यसैगरी सेना परिचालन मन्त्रिपरिषद्ले गर्ने भनी लेखिएकोमा पनि उनले संशोधन राख्दै मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले गर्ने भनी संशोधन गर्नुपर्ने उल्लेख गरेका छन्।
संवैधानिक अंगका पदाधिकारीको सिफारिश प्रधानमन्त्री, सभामुख, उपल्लो सभाका अध्यक्ष, प्रतिपक्षी नेता, वरिष्ठ मन्त्रीहरूसम्मिलित संवैधानिक परिषद्ले गर्ने भइसकेपछि तिनको सुनुवाई संसदीय समितिबाट गर्ने व्यवस्था नै नराख्ने पनि कोइरालाको अर्को प्रस्ताव छ। ‘हाम्रा ठूला पदाधिकारीहरूले नियुक्तिको निर्णय गर्ने अनि हामी फुच्चे सांसदहरूले सुनुवाई गर्ने प्रक्रिया नै अमिल्दो भयो,' उनले भने।
त्यसैगरी संवैधानिक निकायका पदाधिकारीको अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था पनि खारेज गर्नुपर्ने उनको अर्को प्रस्ताव छ। त्यसले शक्ति पृथकिकरणको सिद्धान्तसँग वेमेल राख्ने उनले बताए।
‘मैले यी प्रस्ताव राख्नुपर्ने कारण के हो भने भोलि मेरो पार्टीले के गर्ला मलाई थाहा भएन तर पार्टीको आत्मा त जोगाउनुपर्यो,' उनले भने, ‘पार्टी नेताहरूलाई किन यस्तो मस्यौदा मान्नुभएको भनी सोध्दा माओवादीलाई मनाउन भन्ने गर्नुहुन्छ। कांग्रेसले आफ्नो सिद्वान्तमा सम्झौता गर्नु हुँदैन।'