फाइल फोटो
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका माफियातन्त्र र भ्रष्टाचारको विरोधमा राप्रपा नेपालले संसद र सडकमा सशक्त अभियान थाल्ने भएको छ।
पार्टी पदाधिकारी तथा संसदीय समितिको संयुक्त बैठक पश्चात पत्रकारसँग कुरा गर्दै राप्रपा अध्यक्ष कमल थापाले सेतोपाटीमा हालै मेडिकल कजेजको विषयमा छापेको गम्भीर समाचारबारे छानबिनका लागि संसदीय छानबिन समिति नबनाएसम्म सदन र सडकमा निरन्तर यो विषय उठाइरहने बताए।
उनले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँदै तत्काल छानबिन सुरू गरी दोषिउपर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन शुक्रबार पार्टीको भातृसंस्थाको नेतृत्वमा जुलुससहित अख्तियारमा औपचारिक अनुरोध पत्र बुझाउने बताए।
बुटबलस्थित यूनिर्भसल मेडिकल कजेजका प्रशासन प्रमुख ध्रुव पौडेलको अडियो सहितको समाचार प्रकाशित भएपछि यस क्षेत्रमा देखिएको भ्रष्टाचारको विषय अति नै गम्भीर भएको भन्दै राप्रपा नेपालले मंगलबार संसदको बैठकमा अरू कार्यक्रमको सट्टा यस विषयमा मात्रै छलफल गर्न स्थगन प्रस्ताव दर्ता गराएको थियो।
सुरूमा कांग्रेस, एमाले र एमाओवादीले उक्त मेडिकल क्षेत्रको भ्रष्टाचारको विषय गम्भीर भएको भन्दै स्थगन प्रस्ताव अनुमोदन गरी सोही विषयमा छलफल गर्न तयार भएका थिए। तर विपक्षी दल राप्रपा नेपालले ल्याएको प्रस्ताव पारित गर्न नहुने केही कांग्रेस, एमाले र एमाओवादी नेताहरुको राय आएपछि त्यी दलका प्रमुख सचेतकहरुले सभासदलाई नचाहँदा नचाहदै पनि प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिदै राप्रपा नेपालको प्रस्ताव अस्वीकृत गरेका थिए।
थापाले त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीको अनसनमा समर्थन जनाउँदै सरकारले चिकित्सा क्षेत्रमा देखिएको सुधारका लागि केदारभक्त माथेमा आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन नगर्नुको रहस्य हालै प्रकाशित समाचारले पुष्टि गरेको दाबी गरे।
‘यति गम्भीर विषयमा सप्रमाण समाचार बाहिर आउँदा अरु मुलुकमा भए सम्बन्धित निकायका पदाधिकारीहरुले नैतिकताको आधारमा राजीनामा गर्थे र सरकारका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल अनुसन्धान प्रक्रिया शुरु गर्थे,’ उनले भने,‘तर विडम्बना नेपालमा न त सरकार बोल्छ, न सदनले समिति बनाउँछ, न अख्तियारले कारबाही अघि बढाउछ न नागरिक समाज बोल्छ न त आमसंचार नै।’
यस्तो उदेक लाग्दो अवस्थाबारे आफ्नो दल गम्भीर भएको थापाले बताए।
उनले सेतोपाटीका लागि समाचार प्रकाशित गर्ने पत्रकार र सो समाचार दिने व्यक्ति पौडलको जीवन रक्षाका लागि सरकारले सुरक्षा व्यवस्था मिलाउन पनि माग गरे।
मेडिकल शिक्षामा देखिएको भ्रष्टाचारको विषयमा यति गम्भिर आवाज उठाउने पार्टी र त्यसको नेताले अखिल नेपाल फूटबल संघमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोप लागेका थापाकै सहोदर भाइ गणेश थापालाई त्यहीबीचमा किन संविधानसभा सदस्यमा मनोनित गरेको भन्ने प्रश्न समेत पत्रकारहरुले सोधेका थिए।
जवाफमा थापाले भने, ‘गणेश थापाको मनोनयनमा पार्टीका पदाधिकारीहरुले नै प्रस्ताव गरेपछि विकल्प नभएर गरिएको हो,’ उक्त निर्णयको बचाउ गर्दै थापाले भने, ‘यसका लागि मैले आरोप खेपिरहेको छु। एन्फाको विषयमा कतिपय आरोपहरू अतिरन्जीत गरिएको छ भने कतिपय विषयमा छानविनको क्रममा छन्’, उनले कानुनभन्दा कोही माथि नभएको बताए।