नयाँ बन्ने संविधानमा आमाको नामबाट मात्रै नागरिकता दिन सक्ने हुनुपर्ने लगायतका माग राखेर आज पनि महिला पुरुषहरु रिले अनसनमा बसे।
विहिबार दिउँसो सेतोपाटी अनसन स्थल पुग्दा अधिवक्ता मिरा ढुंगाना, सन्ध्या भण्डारी, सविन श्रेष्ठ,लिला यादव,कृतज्ञ राई,पविता अधिकारी शकुन्तला भुजेल अनसनमा थिए।
अनसनमा ऐक्यवद्धता जनाउन एमाओवादीकी नेता हिसिला यमी समेत आएकी थिइन्।
उनीहरुले महिलाका अधिकारहरु सुनिश्चित गरेर मात्र संविधान जारी गर्नुपर्ने बताए। संविधानको विधेयकमा भएको व्यवस्थाले आमाको नामबाट मात्रै नागरिकता दिन नमिल्ने भन्दै महिलाहरुले विरोध गरेका छन्।
‘नागरिकता सम्बन्धी व्यवस्था विभेदकारी छ।’अधिवक्ता ढुंगानाले भनिन,‘अन्तरिम संविधानमा जस्तो व्यवस्था भएको छ जसले आमाको नामबाट मात्रै नागरिकता दिन मिल्दैन तर बावुको नामबाट मात्रै नागरिकता दिन भने सजिलै सकिन्छ।’
यस्तो व्यवस्थाले आमासंग मात्रै भएका धेरै सन्तान नागरिकता विहिन हुने उनले बताइन्।
त्यस्तै महिलाको शरिरमाथि उसकोमात्रै नियन्त्रण हुने, स्थानीय निकायका प्रमुख पदहरुमा महिला सहभागीताको सुनिश्चितता हुनै पर्ने लगायतका माग उनिहरुले राखेका छन्।
महिला संजाल लगायत करिब ५० संघसंस्था यो अनसनमा ऐक्येबद्धता जनाएका छन्।