संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले मधेसमा भइरहेको शक्ति प्रदर्शनले संविधानसभामा रहेको दुई-तिहाईको म्यान्डेट ध्वस्त पारेको बताउँदै तराईमा अहिले अहिले प्रकट भइरहेको म्यान्डेट अनुसार संविधान लेखिनुपर्ने बताएका छन्।
तराईमा प्रदर्शन हिंसात्मक हुँदै जाँदा मंगलबार काठमाडौं आइपुगेका उपेन्द्र यादवले आज पत्रकार सम्मेलन आयोजना गर्दौ सरकार समस्या समाधानका निम्ति गम्भीर नभएको पनि आरोप लगाए।
यादवले भने, ‘अहिले भइरहेको आन्दोलनले संविधानसभामा रहेको दुई-तिहाइलाई चकनाचुर पारिसकेको छ। अब यही आन्दोलन अनुसार संविधान बन्नुपर्छ।’
विगत भएका सम्झौता कार्यान्यवन भए वार्ताद्वारा समस्याको समाधान गर्न सकिने बताउँदै यादवले सरकार वार्ताका निम्ति एक रति पनि तयार नभएको बताए।
आफू वार्ताद्वारा समस्या समाधानका निम्ति तयार भए पनि सरकारको दमनकारी नीति र रवैयाका कारण देश संकट तर्फ उन्मुख नभएको उनको तर्क छ।
केही समय संविधान निर्माण स्थगित गरौँ र वार्ताद्वारा समस्या सामाधान गरौँ भन्ने मधेसवादी दलको आग्रहलाई सरकारले बेवास्ता गरेको उनले आरोप लगाए। विगतमा मधेसवादी दल र सरकारबीच भएका सम्झौता लागू हुनुपर्ने, सेना परिचालन गर्न नहुने, दंगाग्रस्त क्षेत्र घोषणा गर्न नहुने, र प्रहरी दमन बन्द गर्नुपर्ने माग मधेशी मोर्चाको रहेको यादवले बताए।
सरकारले मोर्चालाई लेखेको पत्रमा ‘प्रयास गरिने छ’ भन्ने जस्ता अमूर्त कुरा भएपछि आफू वार्ताको लागि उत्साहित नभएको उनले तर्क गरे।
समाधानका लागि मधेसी दलसँग विगतमा भएको २२ बुँदे र ८ बुँदे कार्यान्वयन हुने पर्ने बताए।
पत्रकार सम्मेलनमा बोल्दै यादवले सरकार साम्प्रदायिक भएको पनि आरोप लगाए। काठमाडौँमा निषेधित क्षेत्र तोड्दा पानीका फोहोर प्रयोग र तराइमा यस्तै कार्य गर्दा किन गोली प्रहार भनि उनले प्रश्न गरे।
यसैगरी जुम्लामा प्रदर्शन हुँदा माग पुरा भएको तर मधेशमा प्रदर्शन गर्दा सेना परिचालन भएकोले सरकार जातीय नरसंहार तर्फ उन्मुख भएको उनको भनाइ छ। ‘अन्तर्राष्ट्रिय मानवता विरोधी मुद्दा भएको छ। यो नरसंहार हो। अब सरकारलाई अन्तर्राष्ट्रिय फौजदारी मुद्दा लगाउनुपर्छ,’ उनले भने।