गाउँको चलनचल्तीअनुसार नचलेको भन्दै जरिवाना तोकेका व्यक्तिलाई प्रहरीले संरक्षण गरेको आरोप लगाउँदै मुगु गाउँका गाउँलेले सीमा प्रहरी चौकी मुगुमा गएराति ढुङ्गामुढा गरेका छन्।
आफ्नो घरमा गाउँलेले तोडफोड गरेपछि मुगु–८ मुगु गाउँका नुन्डुल लामा र सोही गाविस वडा नं ५ का सोनाम लामा सुरक्षाा माग्दै प्रहरी चौकीमा बसेका थिए। उनीहरु चौकीमा बसेको थाहा पाएपछि राति २००/३०० जना गाउँले आएर चौकीमा ढुङ्गामुढा गरेका हुन्।
नुन्डुल र सोनामले गाउँभन्दा बाहिर जुम्ला र जाजरकोटका सङ्कलक ल्याएर आफ्नो वनमा जथाभावी जडीबुटी सङ्कलन गरेको तथा सङ्कलनको बहानामा घोर चोरी सिकारी गरेको भन्दै गाउँलेको बैठकले जरिवाना गर्ने निर्णय गरेको थियो तर उनीहरुले जरिवाना तिर्न अस्वीकार गरेका थिए।
दुवै जना जुम्ला, विजय नगरटोलका सङ्कलक ठेकेदार केसीबहादुर भण्डारीका स्थानीय सम्पर्कवाला व्यक्ति हुन्।
गाउँले भेलाको निर्णय नमानेको भन्दै मङ्गलबार दिउँसो उनीहरुका घरमा गाउँलले तोडफोड र कुटपिट गरेका थिए।
ढुङ्गामुढाले सीमा प्रहरी चौकीका झ्यालढोका, पर्खाल भत्किएको प्रहरीले जनाएको छ।
ठूलो सङ्ख्यामा आएका गाउँलेको प्रतिकारबाट बच्न प्रहरीले ११ राउन्ड हवाइ फायर गरेको र गाउँलेको प्रहारबाट प्रहरी सहायक निरीक्षक रुद्र रावलसहित पाँचजना प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक श्रीहजुर सिलवालले बताए।
रातभरि तनाव भएपछि गएराति ८ बजे नै प्रहरी निरीक्षक मित्रप्रसाद आचार्यको नेतृत्वमा थप १५ जना प्रहरी पठाइएको छ। टोली घटनास्थलमा पुगेपछि स्थलगत मुचुल्का उठाउने र प्रहरी चौकीमा ढुङ्गामुढा गर्न गाउँलेलाई उक्साउने टासी तामाङ, च्यावा तामाङ, पाल्जिर तामाङ, तेन्जिङ तामाङ र पाल्जोर तामाङलाई नियन्त्रणमा लिने र स्थितिलाई सामान्य बनाउन गाउँमा प्रहरीले सहजीकरणको काम गर्ने पनि प्रनाउ सिलवालले बताए।
ठेकेदार भण्डारीका अनुसार जिल्ला वन कार्यालयबाट राष्ट्रिय वनमा कटुकी सङ्कलनको वैधानिक रुपमा पुर्जी लगेर जडीबुटी सङ्कलन गरेको र राष्ट्रिय वनलाई सामुदायिक वन जस्तो गरेर आफ्ना मान्छेबाट गाउँलेले जरिवाना उठाउन खोजेको र आफूहरुले दोहोरो दस्तुर तिर्न नमानेपछि सुनियोजित रुपमा आक्रमण गर्न थालेपछि स्थिति तनावपूर्ण भएको हो ।
मुगु गाउँस्थित राष्ट्रिय वनमा ८० क्विन्टल कटुकी सङ्कलन गर्न ठेकेदार भण्डारीले सङ्कलन पुर्जी लिएको जिल्ला वन कार्यालयले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट २८ कोस पूर्वमा पर्दछ भने पैदलमा दुई दिन लाग्छ । रासस