व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले अघिल्लो सोमवार टीकापुरमा भएको घटनाका बारेमा आज स्थलगत अध्ययन गरेको छ। टोली संयोजक एवं संविधानसभा सदस्य जीवनराम श्रेष्ठसहित संविधानसभा सदस्यहरु प्यारेलाल राना, कमलाकुमारी घिमिरे, ओगदी शेर्पा र चन्द्रादेवी जोशी सम्मिलित समितिले घटनाको बारेमा स्थलगत अध्ययन गरेको हो। टोलीले एक नाबालकसहित ८ सुरक्षाकर्मीको ज्यान जानेगरी भएको घटनाको स्थलगत अवलोकन, प्रत्यक्षदर्शीसँगको अन्तरक्रिया र नाबालक टेकेन्द्र साउँदका परिवारसँग भेटघाट गरेको छ।
त्यस्तै समितिले टीकापुर क्षेत्रमा क्रियाशील राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि, थारु अगुवा र सुरक्षा निकायसँग समेत छलफल गरेको छ। टीकापुर उद्योग वाणिज्य संघमा भएको सर्वपक्षीय छलफलमा बोल्दै समितिका टोली संयोजक जीवनराम श्रेष्ठले टीकापुर घटना राजनीतिको पृष्ठभूमिका भएको हिंसात्मक घटना भएको बताउँदै घटनामा संलग्नलाई कारवाही हुने विश्वास दिलाए।
श्रेष्ठले ढिलो चाँडो भए पनि घटनाबारे निष्पक्ष छानविन गरेर दोषीमाथि कारबाही गरिने बताए। सदियौंदेखि मिलेर बस्दै आएका समुदाय फेरि पनि मिलेर बस्नुको विकल्प नभएको उल्लेख गर्दै श्रेष्ठले हामी सबै मिलेमात्र देशको अखण्डता रहने बताउ। कार्यक्रममा सहभागी बक्ताहरुले भदौ ७ गतेको घटना राजनीतिक पृष्ठभूमिबाट शुरु भए हिंसात्मक घटनाका दोषीहरुलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।