एमाले र एमाओवादीका आ-आफ्नै अडान र विरोधका कारण मंगलबारको संसद बैठक प्रभावित भएको छ।
बिहान ११ बजेदेखि शुरु हुने बैठकमा सचिवालयले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निमाण सम्बन्धि विधेयक २०७२ पेश गर्नेदेखि सरकारको चालु आर्थिक वर्षको आर्थिक विधयेकमाथि छलफल गर्ने कार्यसूची तय गरेको थियो।
सरकारले जेठमा जारी गरेको पुर्ननिर्माण सम्बन्धी अध्यादेश सदनमा पेश भइसकेको भन्दै एमाओवादीले मन्त्रिपरिषदले निर्णय गरी विधेयक दर्ता गर्नु पर्ने अडान लिएको छ।
पुरानै अध्यादेशको आधारमा सरकारले संसदमा उक्त विधेयक पेश गर्न नमिल्ने एमाओवादीको अडान छ।
त्यसैगरी एमालेले सरकारको तर्फबाट अर्थमन्त्री रामशरण महतले सदनमा बजेट पेश गरेपछि भएको सहमति अनुसार बजेट विनियोजन गर्ने माग गरेपछि बैठक बस्न ढिलाइ भएको एक सभासदले बताए।
एमालेको मागबारे अहिले संसद भवनभित्र एमाले नेताहरु र अर्थमन्त्री महतबीच वार्ता भइरहेको छ।
राप्रपा नेपालले कार्यस्गन प्रस्तावका कारण पनि बैठक सुरु हुन सकेको छैन।
सेतोपाटीमा प्रकाशित समाचार र अडियो टेपका अाधारमा मेडिकल कलेज सञ्चालनमा राजनीतिक दलदेखि न्यायालय र सरकार समेत मुछिएको भन्दै राप्रपा नेपालले कार्यस्थगन प्रस्ताव राखेको हो।
राप्रपा नेपालले यो प्रस्तावका अघि सारेपछि त्यसको व्यवस्थापन कसरी गर्ने भनी सभामुख र सरकारको नेतृत्वलाई थप समस्या परेको छ। सभामुखसँगको छलफलपछि आजको बैठकमा यस विषयमा अत्यन्त जरुरी सार्वजनिक महत्वयको प्रस्तावमाथि छलफल हुने भएको छ।
जसका कारण मंगलबारको बैठक झण्डै साढे दुइघण्टा ढिलो हुदा पनि सुरु हुन सकेको छैन।