कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईँले कैलालीको सुरक्षा व्यवस्था मजबुद भएको भन्दै ढुक्क हुन सर्वसाधारणलाई आग्रह गरेका छन्।
एक नाबालकसहित आठ सुरक्षाकर्मीको ज्यान गरी भएको टीकापुर घटनाको आठ दिनपछि सोमबार टीकापुरमा आयोजित पत्रकार सम्मेलनमा सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको दायित्वमा आफू कटिबद्द रहेको बताए।
चापागाईँले कैलाली जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षा क्याम्पहरुको निरीक्षण पश्चात् सुरक्षा योजना बनाएकाले ढुक्क हुन सर्वसाधरणलाई आग्रह गरेका हुन्।
सुरक्षाको अवस्थालाई विश्लेषण गर्दै धनसिंहपुर र नारायणपुर हेर्ने गरी नारायणपुर तथा हसुलियामा सशस्त्र प्रहरीको बेस क्याम्प र अन्य ८ वटा ठाउँमा सशस्त्र र जनपद प्रहरीको संयुक्त टोली परिचालन गरिएको उनले बताए।
निष्पक्ष ढङ्गले जनतालाई सुरक्षा दिन निर्देशन दिइएको बताउँदै उनले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको दायित्व भएको बताए। लगातारको बन्द र कर्फ्युले कैलालीको जनजीवन निकै कष्टकर बन्दै गएकोप्रति आफूहरु चिन्तित बनेको चापागाईंले भने। कर्फ्यु परिस्थितिको उपज भएको उनले बताए।
घटनाका दोषिलाई छानविन गरेर कानुनी दायरामा ल्याउन प्रशासन प्रतिबद्ध रहेको बताउँदै उनले घटनाको अनुसन्धान भइरहेको बताए।
थारुलाई मात्रै पक्राउ गरिएको गुनासो आफूहरुसँग पुगेको स्मरण गर्दै चापागाईंले घटनामा संलग्नताको प्रमाण र प्रष्टिकरणका आधारमा पक्राउ गरिने बताए।
जनताको बाँच्न पाउने अधिकार पहिलो भएको बताउँदै उनले त्यसमा राज्य संवेदनशील रहेको बताए। प्रमुख जिल्ला अधिकारी चापागाईंले ८ गते टीकापुरमा भएको आगजनीका घटनामा नेतृत्वको अभाव महसुस भएको पनि बताए।
कार्यक्रममा नेपाल प्रहरी र शसस्त्र प्रहरीका सुदूरपस्चिम प्रमुख माधव नेपाल र सुरज श्रेष्ठकोसमेत उपस्थिति थियो ।