राप्रपा नेपालले सेतोपाटीमा प्रकाशित मेडिकल कलेजको ‘टेप’ बारे समाचारलाई आधार बनाएर छलफलका लागि कार्य स्थगन प्रस्ताव दर्ता गराएको छ।
सेतोपाटीमा युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रशासन प्रमुख ध्रुब पौडेलको विषयमा समाचार र अडियो प्रकाशन भएपछि राप्रपा नेपालले मंगलबार संसदमा यो विषयमा छलफल नगरी अन्य विषयमा प्रवेश नगर्नू भन्ने प्रस्ताव गर्दा गराएको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाका अनुसार नियम र कानुन अनुसार आफूहरूले यो सार्वजनिक विषयको बारेमा कुरा उठाउन लागेको बताए।
‘हामीले संविधानको धारा ३३ अनुसार अत्यन्तै महत्वपूर्ण विषय भएकाले सभामुख, कानुनमन्त्री, प्रधानमन्त्रीलाई समेत यसबारेमा जानकारी गराएका छौ, आज बस्ने संसदको बैठकमा सुरूमै यो प्रस्तावबारे छलफल चलाउने छौ।’
यसअघि चिकित्सा शिक्षामा व्याप्त विकृतीबारे सेतापाटीमा प्रकाशित समाचारलाई आधार बनाएर न्याय परिषद्ले छानबिन गर्ने भएको छ। सोमबार बसेको न्यायपरिषद् बैठकले प्रकाशित सामाग्रीले न्यायलयलाई छोएको विषयमा आवश्यक जाँचबुझ गर्न सचिवालयलाई निर्देशन दिएको छ।
कानून मन्त्री एवं न्यायपरिषद् सदस्य नरहरि आचार्यले सेतोपाटीलाई छानबिनबारे जानकारी गराएका हुन्। ‘यसबारे छानबिन गरेर फैसला र कागजातहरू न्यायपरिषद्को अर्को बैठकमा पेश गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरेका छौं,’ उनले भने, ‘मैले नै न्यायपरिषद्मा यसबारे कुरा उठाएको हुँ।’
सेतोपाटीमा प्रकाशित समाचारमा मेडिकल कलेजका अधिकारीले तीनजना न्यायाधीशले सहयोग गरिररहेको बताएका छन्- गोपाल पराजुली, दीपकराज जोशी र चोलेन्द्रशमशेर राणा।
तीनैजन न्यायाधिश पुनरावेदनबाट सर्वोच्चमा नियुक्त हँदा सबैभन्दा विवादास्पद् हुन्। परिषद्ले मेडिकल कलेजबारे यी न्यायाधीशले गरेका फैसलाहरु पनि हेर्ने भएको छ।