राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले आफ्नो पार्टी सडक र सदन दुवै ठाउँबाट सकेसम्म सहमतिमा संविधान निर्माणका लागि आन्दोलित भएको बताएका छन्।
महोत्तरीको बर्दिबासमा पार्टीद्वारा आयोजित दबाब र्याली सभालाई आइतबार सम्बोधन गर्दै देशमा हाल उठेको मधेशी, दलित, जनजाति, थारुका माँगहरुलाई ७ दिनभित्र मस्यौदामा सम्बोधन गरिएन भन्ने आफ्नो पार्टी संविधानसभाबाट बाहिरिने चेतावनी दिए।
उनले आफ्नो आन्दोलन सडक र सदन दुईटैमा रहेको तथा संविधान निर्माण प्रक्रियाको अन्तिम दिनसम्म पनि सबैको माँगलाई सम्मिलित गरेर संविधान जारी गरेर देशमा दिगो शान्ति स्थापना गर्नुपर्नेमा जोड दिए।
उनले यदि त्यसो भएन भने सम्पूर्ण कुराको जिम्मेवारी तीन ठूला दलमा जाने बताए।
अध्यक्ष भण्डारीले झापादेखि पर्सासम्म एउटा र नवलपरासीदेखि कञ्चनपुरसम्म अर्को राज्य गरी मधेशीमा दुई प्रदेश हुनुपर्नेमा जोड दिए।
त्यसअघि बर्दिबासको भोला बसन्त चौकबाट विभिन्न माँग राखी मोटरसाईकल र्याली समेत निकालिएको थियो। र्यालीले बर्दिबासको विभिन्न क्षेत्रको परिक्रमा गरी दबाब र्यालीमा सहभागी भएका थिए।
र्यालीमा महोत्तरी, धनुषा र सर्लाहीका पार्टीका नेता कार्यकर्ताहरु सहभागि रहेका थिए। यसअघि आज सोही पार्टीले मधेशमा दुई प्रदेशको माँग गर्दै बर्दिबास बजार बन्द गराएका थिए।