नेपाली कांग्रेसको अनुशासन समितिले हिजो बुधबार अमरेश सिंहलाई काटेको २४ घण्टे स्पष्टीकरण पत्र पार्टीले बिहिबारसम्म उनलाई बुझाउन सकेको छैन।पत्र काटी सिंहलाई बुधबार नै बुझाउन कार्यलयले कर्मचारी खटाएपनि बिहिबार बिहानसम्म बुझाउन सकेका छैनन्। यदि अमरेशले पत्र नबुझेर छलिरहे घरमा पत्र टास्ने तयारी पार्टीले गरेको छ।
‘यदि सभासद सिंहले समितिको पत्र बुझ्न मानेनन् भने समितिले अन्य तरिकाबाट अर्थात पत्र टासेर भएपनि कारबाहीको प्रक्रिया अघि बढाउने छ’, अनुशासन समितिका सदस्य सुरेन्द्र पाण्डेले सेतोपाटीसँग भने।
नेपाली कांग्रेस सभासद अमरेशकुमार सिंहले निर्धारित समयभित्र पार्टीमा चित्तबुझ्दो जवाफ नदिए पार्टीले अनुशासनको कारबाही गर्ने तय गरेको छ।
निर्धारित समयभित्र चित्तबुझ्दो जवाफ पार्टीलाई नदिए पार्टीको अनुशासन समितिले पार्टी विधान र नियमावली अनुसार, कसूर हेरी सम्झाउने, चेतावनी दिने, निलम्बन वा पार्टी सदस्यताबाट निष्काशन समेत गर्न सक्ने छ।
विधानको दफा ३४ को उपदफा १ (ख) अनुसार अनुशासन समितिले अनुशासनको कारबाही गर्नुपूर्व आफ्नो सफाइ दिने मौका अभियोग लागेका व्यक्तिलाई दिनुपर्ने छ।
सोही दफाको उपदफा २ अनुसार, निलम्बन गर्दा बढीमा ६ महिना र निश्कासन गर्दा बढीमा तीन वर्षका लागि गर्न सक्ने छ। त्यस्तै पछिल्लो दल त्याग एन अनुसार संसदीय दलको नेताले सभामुखलाई अनुरोध गरे उनको सांसद पद पनि निलम्बन हुनसक्छ। समितिले गरेको निर्णय कारबाहीमा परेका सदस्यलाई चित्त नबुझेमा कारबाहीको सूचना पाएको मितिले ३५ दिनभित्र पार्टी केन्द्रीय समितिमा पुनरावेदनका लागि दिन सक्नेछन् र केन्द्रीय कार्यसम्पादन समितिले निर्णय नै अन्तिम निर्णय हुनेछ।
कैलालीको टिकापुर लगायत विभिन्न भागमा भएका कार्यक्रममा पार्टी अनुशासन विपरित अभिव्यक्ति दिएको र हिंशा भड्काउन सहयोगी बनेको भन्दै कांग्रेसको अनुशासन समितिले सिंहलाई पत्र काटेको हो।
पछिल्लो समय राष्ट्र विखण्डनदेखि सामाजिक सद्भाव भडकाउने अभिव्यक्ति दिएको भन्दै उनले दिएको अभिव्यक्तिको रेकर्ड अध्ययन गरी अनुशासन समितिले पार्टी विधान र नियमावली नियम ४१ को उपनियम १ र २ को क, ख, घ, ङ र ज अनुसार स्पष्टिकरण माग गरेको छ।
यसअघि सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा मुख्य सचेतक चीनकाजी श्रेष्ठले सिंहसँग स्पष्टिकरण माग गरेका थिए।
सुन्नुहोस् उनको विवादास्पद भाषण