सुरक्षा सम्वेदनशिलतालाई ख्याल गर्दै जिल्लाका दुई जर्दन प्रहरी ईकाइहरू पायक पर्ने स्थानमा सारिएको छ।
दाङलाई दंगाग्रस्त क्षेत्र घोषणा गरे लगतै जिल्लाका विभिन्न स्थानमा रहेका तर संख्या कम भएका प्रहरी ईकाइहरुलाई गाभिएको हो। कैलालीको घटनापछि सुरक्षा संवेदनशिलता ख्यालगरी जिल्लाका विभिन्न स्थानमा रहेका एक दर्जन बढी प्रहरी ईकाइहरु पायक पर्ने स्थानमा सारिएको जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए।
दाङको रिहार र सतवरिया प्रहरी पोष्टलाई ईलाका प्रहरी कार्यालय अमेलियामा सारिएको छ। लमही क्षेत्रमा रहेका हाइवय र बजार क्षेत्रमा रहेका प्रहरी ईकाईहरु ईलाका प्रहरी कार्यालय लमहीमा राखिएको छ भने गोवरडियालाई गढुवामा सारिएको छ। त्यस्तै बेलझुन्डि,बिजौरी,खाद्रे,गोलटाकुरी,बेलुवा र तुलसीपुर वसपार्कको प्रहरी ईकाइहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सारिएको छ।
दमारगाउँलाई जस्पुर प्रहरी चौकीमा सारिएको छ। पश्चिम दाङको चिराघाट र देउखुरीस्थित नर्ती प्रहरी चौकीलाई जिल्ला प्रहरी कार्यालय दाङमा लगिएको छ भने बालापुरलाई हेकुली प्रहरी चौकीमा सारिएको छ। प्रहरी चौकी पुरन्धारालाई हापुरेमा र घोराही नगरपालिका क्षेत्रमा रहेका विभिन्न प्रहरी विटहरुलाई जिल्ला प्रहरी कार्यालय दाङ अन्तरगत राखिएको छ।
थारू वाहुल क्षेत्र दाङमा सुरक्षा संवेदनशिलता ख्यालगरी तत्काल पायक पर्ने स्थानमा सारिएको भएपनि स्थिति सामान्य भए लगतै सम्वन्धित स्थान फेरि उनीहरुलाई फर्काउने दाङका प्रहरी प्रमुख कुवेर कडायतले बताए।
बुधवार नै दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालसहित जिल्ला प्रहरी प्रमुख कडायत जिल्लाको विभिन्न स्थानको शान्ति सुरक्षाको स्थिति बुझन पुगेका थिए। जिल्ला प्रहरी प्रमुख पौडेलले दाङमा प्रहरीको सावधानी र होसियारीले गर्दा कुनै घटना घट्न नपाएको प्रतिकृया दिए। उनले आगामी दिनमा पनि दाङमा त्यस्तै कुनै सम्भावना नरहेको दाबी गरे।
लमहीमा प्रदर्शन हुन पाएन
दंगाग्रस्त क्षेत्रमा प्रदशन गर्ने तयारी गरेका थारु समुदायहरुलाई बुधवार प्रहरीले लमही क्षेत्रमा भेला हुन नै दिएन। लमहीमा बुधवार थरूहट/थारूवान संघर्ष समितिले प्रदर्शनको तयारी गर्दै स्थानीय गाउँहरुवाट मानिसहरु लमही बजार क्षेत्रमा जमघट हुँदै थिए। तर त्यसको सूचना पाएको स्थानीय प्रशासनले व्यापनक मात्रामा लमहीमा प्रहरी परिचालन गरी थारु समुदायका मानिसहरुलाई गाउँ/गाउँवाट लमही बजार प्रवेशमा रोक लगाएको थियो।
दाङलाई भदौ सात गते बेलुकी ८ बजेदेखि आगामी २२ गते सम्म दंगाग्रस्त क्षेत्र घोषणा गरिएकोले निषेधित क्षेत्रमा नारावाजी र प्रदर्शन गर्न नमिल्ने भन्दै प्रहरीले लमही बजार क्षेत्र प्रवेश गर्ने विभिन्न स्थानमा चेकजाँच र खानतलासी विहानै देखि शुरु गरेको थियो।
खानतलासिको क्रममा घरेलु हातहतियार फेला परेको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए। उनले भाला, गुलेली,लाठी जस्ता वस्तुहरु बरामद गरिएको जानकारी दिए।
प्रहरीले बुधवार लमहीवजार क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी घेरामा राखेको थियो।दाङका प्रमुख जिल्ला अधिकारी पौड्यालले प्रहरी प्रशासनको उच्च सावधानी र सर्तकताका कारण संभावित घटना टरेको बताए। उनले जिल्लामा त्यस्तो कुनै सुरक्षा चुनौति नरहेकोपनि दाबी गरे।
प्रहरीले ज्यादती गर्यो – योगेन्द्र चौधरी
सभासद एवं फोरम लोकतान्त्रीकका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले दाङको लमहीमा बुधवार गर्ने भनिएको प्रदर्शन आफूहरुले रोकेको दाबी गरेका छन्। हिंसा भड्कने स्थिति देखेर प्रदर्शन रोकिएको बताएका उनले राज्यले आफै जातीय सदभाव विथोल्ने गरेको आरोप लगाए। उनले भने ‘थारुका अनुहार देख्ने वित्तिकै कामकाजले बजार जान लागेकाहरुलाई समेत रोकियो, वनमा स्याउला लिन जान खोज्नेहरुलाई पनि कुटियो, यो कस्तो रबैया हो,’ जिल्लाको सतवरियादेखि नर्तिसम्म व्यापक मात्रामा सुरक्षाकर्मी परिचालनगरी हिड्डुल गर्न समेत प्रतिवन्ध लगाइएको उनले आरोप लगाए।
राज्यको यस्तै रबैया कायमै रहे कैलाली काण्ड निम्तने उनले चेतावनी पनि दिए। दाङ निवासी चौधरीकै नेतृत्वमा बुधबार लमहीमा प्रदर्शनको तयारी गरिएको थियो।