रूपन्देहीको सदरमुकाम भैरहवामा गत सनिबारदेखि लगाईएको निषेधाज्ञाको समयअवधि थप गरिएको छ। स्थानीय प्रशासनले गत शनिबारदेखि बुधबारसम्म लगाएको निषेधाज्ञा भदौ १३ गते आईतवारसम्मको लागि थप गरेको हो। गत बिहीबार आन्दोलनकारी र स्थानीयवासीका बिचमा दोहोरो झडप भएपछि स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा जारीगरेको हो।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले तराईका विभिन्न जिल्लाहरुमा भएको हिंसात्मक आन्दोलनपछि उत्पन्न परिस्थीतीलाई मध्यनजर गर्दै भैरहवामा पनि निषेधाज्ञा थप गरिएको बताए।
निषेधाज्ञा थप भएपछि मधेशी मोर्चा र थरुहटको आन्दोलन पछि पनि भैरहवा, बुटवल लगायतको जनजिवन सामान्य देखिएको छ। सर्वसाधारणहरू आफ्ना व्यापार व्यवसाय सञ्चालनमा लाग्न थालेका छन्। बुटवल भैरहवा लगायतका क्षेत्रमा सवारी साधन पनि निर्वाध रुपमा सञ्चालन भएका छन्। सर्वसाधारणलाई आफ्ना नियमित कामहरु संचालन गर्न प्रशासनले आग्रह गरेको छ।
‘जनजीवन सामान्यतर्फ लैजान व्यापार व्यवसाय, शिक्षण संस्था नियमित रुपमा संचालन गर्न आग्रह गरिएको छ। जिल्लाको सुरक्षा अवस्थापनि कडा पारिएको छ। कुनै अराजक गतिविधि भएको पाए तत्काल कारबाही गर्न सुरक्षाकर्मीलाई आदेश दिईएको छ,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने।
यद्यपी रुपन्देही लुम्बिनी, धकधई, मर्चवार लगायत मधेशी समुदायको बाहुल्यता रहेका क्षेत्रहरुमा भने बन्दको प्रभाव परेको छ। भैरहवा, लुम्बिनी लगायतका दक्षिणी क्षेत्रमा मधेशी दलको बढी प्रभाव रहेकोले बन्दको पनि सो क्षेत्रमा बढी प्रभाव परेको हो।