धरानमा पहिचानवादीहरुले आन्दोलनको शंखघोष गरिरहँदा हिन्दुवादीहरुले पनि हिन्दु राष्ट्रको माग्दै सडकमा उत्रिएका छन्।
धरानको भानुचौकमा संघीय समाजवादी फोरम नेपालले पहिचानसहितको संघीयताको पक्षमा खुलेर वकालत गरिरहदा छाताचौकमा हिन्दुवादीहरुले हिन्दु राष्ट्र माग गरे। सडकै ढाकेर हिन्दुबादीहरुले गरेको आन्दोलनले ट्राफिक व्यवस्थापनमासमेत दुईघण्टा चुनौति थपियो। सवारी आवागमनसमेत असहज बनेपछि बैकल्पिक मार्गबाट दुईचक्के सवारीदेखि सबै हिड्न बाध्य भए।
संघीय समाजवादीमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले धर्म निरपेक्ष राज्यको वकालत गरे। यादवले संविधानको मस्यौदा प्रक्रियागत रुपमै गलत भएको बताए। यसलाई पुनर्लेखन नगरे अर्को विद्रोह हुने चेतावनी दिए। चार दलिय प्रतिगामि कदम विरुद्ध आयोजित विरोधसभामा उनले भने–‘‘यो मस्यौदा प्रकृयागत रुपमै गलत, अधुरो, अपुरो मात्र हैन प्रतिगामी छ, पुनर्लेखन नगरे वि›ोह अवश्यमभावी छ।'
मस्यौदामा अन्तरिम संविधानको मर्मम र भावना विपरीत गएको बताउँदै समानुपातिक समावेशितासमेत खोसेको आरोप लगाए। त्यस्तै केन्द्रीय सदस्य अर्जुन थापाले मधेश आन्दोलनपछि भएका ८ बुदे र २२ बुदे सहमति कार्यान्वयन गर भनेर मात्रै भनेको बताए। ‘के त्यो भन्दा हामीले गलत गर्यौं।' उनले भने।
त्यस्तै अर्का केन्द्रीय सदस्य आरसी तुम्बाले अहिले आन्दोलनको काष्टिङ मात्रै भइरहेको बताउँदै ब्राम्हणवादीहरुले यस्तै दमन गरिरहे आन्दोनल थप सशक्त हुने बताए। उनले केपी ओलीले पहिचानवादीहरुको आन्दोलन देखेर होस गुमाउदै गएको बताउँदै त्यही भएर जे पायो त्यही बोलिरहेको बताए।
यता हिन्दुबादीहरुको आन्दोलन उस्तै शसक्त थियो। इटहरी तथा विभिन्न क्षेत्रबाट आएका हिन्दुबादीहरुले हिन्दु राज्य नलेखिए आन्दोलन गर्ने बताए। विभिन्न साधु सन्तसँगै बैदिक सनातक हिन्दु राष्ट्र नेपाल संयुक्त संर्घष समिति धरानका कार्यकर्ताहरुकोसमेत बाक्लो उपस्थिति रहेको थियो। नेपाल र नेपालीहरुको प्राचिन परम्परा, संस्कार र रितीरिवाजहरुलाई छिन्न भिन्न पार्ने खाल्को कार्य अहिलेको सरकारले गरिरहेको आरोप लगाए। उनीहरुले ८१ प्रतिशत जनताको अभिमतलाई राज्यले अपहेलना गरे देशले अर्को अनिष्ट भोग्ने बताएका छन्।
कार्यक्रममा गौरीशंकर अग्रवालले यो आन्दोलन नभई हिन्दु राष्ट्र मात्रै मागेको बताए। ‘हामीले अर्को देशको धर्म पनि मागेको होइन्, भइरहेको धर्म दिनुस् भनेर भनेको हो।' उनले भने। कार्यक्रममा खजान्चीदास अग्रवाल, डा. भरतप्रसाद भट्टराई, पिंगला न्यौपाने, जुद्ध लोहनीलगायतले बोलेका थिए। उनीहरुले हिन्दु राज्य नभएसम्म सडक आन्दोलन भइरहने बताएका थिए।
कार्यक्रममा सुरक्षाव्यवस्था कडा पारिएको थियो। करिव दुईसय बढी सुरक्षाकर्मीकाबीच कार्यक्रम भएको थियो। दुई पक्षकै कार्यक्रममा प्रहरीको बाक्लो सुरक्षाव्यवस्था थियो। तर, दुबै तर्फ कार्यक्रम शान्तिपूर्ण नै सम्पन्न भएको छ।