तीन दलले गरेको सीमाङ्कनको विरोधमा आह्वान गरिएको मधेस बन्दको ११औँ दिन आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्जमा लाठी जुलुस प्रदर्शन गरेको छ।
मधेस बन्द सफल बनाउन वीरगन्जको घन्टाघरबाट बाजागाजासहित लाठी जुलुस निकालिएको हो। घन्टाघर चोकबाट मोर्चाले निकालेको लाठी जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी पुनः घन्टाघर चोकमै पुगी समाप्त भएको थियो।
सद्भावना पार्टीका सह–अध्यक्ष एवम् सभासद् लक्ष्मणलाल कर्ण र सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष एवम् सभासद् लालबाबु राउत गद्दीको नेतृत्वमा लाठी जुलुस निकालिएको हो।
यसैबीच, समग्र मधेस दुई स्वायत प्रदेशको मागसहित आजदेखि राष्ट्रिय मधेस समाजवादी पार्टी आन्दोलनमा उत्रेको छ । रामसपा पर्साले आज वीरगन्जको आदर्शनगरस्थित पार्टी कार्यालयबाट बन्द सफल बनाउन अपिल गर्दै जुलुस निकालेको हो।
रामसपाका केन्द्रीय सदस्य राजेशमान सिंहको नेतृत्वमा आदर्श नगरबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी घन्टाघर चोक पुगेको थियो। साउन ३० गतेदेखि भएको बन्दले बारा पर्साको जनजीवन कष्टकर बन्दै गएको छ। मोर्चालगायत विभिन्न मधेसवादी दलले आह्वान गरेको बन्दको कारण निजी तथा सार्वजनिक यातायात, उद्योग, बजार, पसल बन्द भएपछि सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको हो। विगत ११ दिनदेखि भएको लगातारको बन्दले गर्दा सर्वसाधारण खाद्यान्न तथा खाना पकाउने ग्यासको अभावसमेत खप्न बाध्य भएका छन्। रासस