मधेसी मोर्चाको बन्दका कारण जनजीवन कष्टकर बन्दै गएको छ।
बन्दले गर्दा तरकारी आयात हुन सकेको छैन भने उपभोक्ताले महँगो मूल्यमा तरकारी किन्नु परिराखेको छ।
त्यस्तै सवारीसाधन ठप्प भएका कारणले सीमावर्ती क्षेत्रबाट नेपाल आउने यात्रुलाई सास्ती भोग्नु परिरहेको छ। यात्रुले भिट्ठामोड नाकाबाट जनकपुरसम्म आउँदा करिब रु दुई हजारसम्म भाडा तिर्नुपरिरहेको छ ।
वैदेशिक रोजगारका लागि जाने श्रमिकले सवारीसाधन बन्द भएका कारण हवाई मार्गबाट काठमाडौँसम्म यात्रा गर्नुपरेको देखिएको छ।
बन्दले शिक्षण संस्था र कलकारखानाको कामकाजसमेत प्रभावित भएका छन्। बजारमा मोटरसाइकल फाटफुट गुडेको देखिए पनि लामो तथा छोटो दूरीका सबै सवारीसाधन ठप्प रहेका छन्।
बन्द समर्थक दलले बिहानैदेखि चोकमा टायर बालेर जनकपुरको मुख्य चोक र सडकमा विरोध प्रदर्शन गरिरहेका छन्। धनुषा जिल्लाका सरकारी कार्यालयको कामकाजसमेत मोर्चाका कार्यकर्ताले बन्द गराएका छन्। रासस