प्रधानमन्त्री सुशील कोइरालाले सोमबार संसदमा सम्बोधन गर्दै कैलालीको घटना बडो दुःखदायी भएको बताएका छन्।
‘मुलुकको शान्ति, स्थायीत्व र विकासको बाटोमा बढ्ने क्रममा मुलुकमा सदभाव खलबलिने, साम्प्रदायिकता खलबलीने कुरा गर्नु हुँदैन,’ प्रधानमन्त्री कोइरालाले भने, ‘सबै दलका नेताको तर्फबाट हिजो मात्र मैले अपील गरेको थिएँ। संविधान निर्माणको कुरामा कतिपयको असन्तुष्टि हुन सक्छन्। यो संविधान भनेको सबैको सम्झौता हो।’
आदीवासी, जनजाति, मुस्लीम, महिला पीछडीएका सबैका सबै कुरा अटाउन सक्दैन। अहिले जुन घटना घटिरहेका छन् त्यसमा म सबैमा विनम्र आग्रह गर्न चाहन्छु कि कैलालीको टिकापुर घटनाबारे अत्यन्त सम्बेदनशिल हुन र यस्ता घटना रोक्न सबैको प्रयास गर्नुपर्छ।
छिटो भन्दा छिटो संविधान बनाउने कुरामा विथोल्ने प्रयास भइरहेको पनि हुन सक्छ। नौ वर्ष लगाएर ६० वर्षदेखिको संविधान बनाउने कार्य पूरा हुँदै छ। मलाई विस्वास छ आम जनताले यो संविधान छिटै आउनुपर्छ। यस घडीमा अत्यन्त संयम र धैर्यतासाथ आइपरेका समस्या सम्बोधन गनुपर्छ।
सबै पार्टीसँग आग्रह गर्न चाहन्छु कि धैर्य कायम गरी सामाजिक सदभाव, जातिय सदभाव कायम गरी सबैलाई मिलाएर सबैका भावना, सबैका आवाजहरु एकैचोटी अटाउन सकिदैन। यति ठूलो ऐतिहासिक उपलब्धीको रक्षा गर्नु सबैको दायित्व हो। सबैको संस्कृति, भाषाभेषभुसा संस्थागत गर्नुपर्छ।
यो संविधानसभाबाट जनतालाई संविधान दिदैछौं। हर मुलुकको संविधानमा फेरबल हुन्छ। र त्यो सम्भावना हुन्छ। यसैलाई अन्तिम हो भनि यस्ता गतिविधि गरेमा नेपाललाई कसैले पत्याउन सक्दैन।
मेरो मन्त्रालय अर्न्तगत उठेका विषयमा धेरै बोल्ने पक्षमा म छैन।