नेकपा एमालेका अध्यक्ष केपी ओलीले कैलालीमा प्रहरीमाथि भएको आक्रमण घुसपैठिया अपराधीहरुले गरेको बताएका छन्।
कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा सम्बन्धमा उनले घटना थारुहरुले गरेको नभई घुसपैठिया अपराधिहरूले गरेको बताएका हुन्। राजधानीको बागबजारमा प्रेस चौतारी नेपालले गरेको एक कार्यक्रममा अोलीले थारुहरू यसरी हिंसात्मक कार्यमा नलाग्ने भन्दै एसएलआर हतियारसहित आएका अपराधीहरूले प्रहरीको हत्या गरेको दाबी गरेका छन्। उनीहरूलाई पहिचान गरेर सरकारले कडा कारबाही गर्नुपर्ने बताएका छन्।
शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर प्रहरीमाथि गरिएको आक्रमणलाई सामान्यरुपमा लिन नसकिने ओलीले भने। उनले यसलाई राजनीतिक घटना नभएर षड्यन्त्र भनेका छन्। उनले भने- आतंक हो। राजनीतिका नाममा कसैले अपराध गर्छ भने त्यो क्षम्य हुन्न।
मनुवा गाबिस–६ सिलमचौरमा सोमबार प्रहरी र प्रदर्शनकारीबीच भएको दोहोरो भिडन्तमा परी प्रहरी बरिष्ठ उपरीक्षकसहित ५ जना प्रहरी र २ जना सशस्त्र प्रहरीको निधन भएको छ।
निधन हुनेहरुमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द रहेका छन्। यसैगरी सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारु रहेका छन्।