स्थानीय प्रशासनले आज दोस्रो दिन पनि कैलालीको पूर्वी क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीच हुन सक्ने झडपलाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो। पूर्वी क्षेत्रका टीकापुर नगरपालिकाका साथै पथरैया, दुर्गौली, मुनुवा, नारायणपुर र धनसिँहपुरमा निषेधाज्ञा जारी गरिएको छ।
निषेधाज्ञा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सुमन धितालले जानकारी दिएका छन्।
उनले सार्वजनिक स्थलमा पाँच जना धेरै व्यक्ति जम्मा नहुने आग्रह गरेका छन्। प्रशासनले पाँच जना भन्दा बढी व्यक्ति जम्मा भएको पाईएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने जनाएको छ।
निषेधाज्ञाको बेलामा सभा समारोह, र्याली लगायतका क्रियाकलाप नगर्न समेत स्थानीय प्रशासनले आग्रह गरेको छ।
दुर्गौली गाविसको तोरैयापुरमा अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीच झडप भएपछि हिजो पनि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरेको थियो। प्रशासनले अस्ती र हिजो राति कर्फ्यु समेत लगाएको थियो।
अस्ती र हिजो थरुहट पक्षधरले जोशीपुर र दुर्गौली बजारमा रहेका पहाडी समुदायका घर र पसलमा तोडफोड गरेका थिए। यता टीकापुरमा अखण्ड सुदूरपश्चिम पक्षधरले थारु समुदायका खोका ठेला भत्काएका छन्।
टीकापुरको खानेपानी ट्याङ्की नजिकै खोका ठेला भत्काउन खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
गएराति भने कुनै ठाउँमा त्यस्तो अप्रिय घटना नभएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक धनबहादुर कठायतले जानकारी दिएका छन्।
थरुहट पक्षधर तोडफोडमा उत्रिएपछि यस क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपाने आफै टीकापुरमा खटिएका छन्।
झडप हुने सम्भावित क्षेत्र टीकापुर बजार, दुर्गौली, अस्नेहरी, जोशीपुर लगायतका क्षेत्रमा ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
इलाका प्रशासन कार्यालय टीकापुरले दुई पक्षबीच सदभाव कायम गराउन पहल गरेको छ। हिजो दुई पक्षका अगुवा र सरोकारवालालाई राखेर छलफलको गरिएको थियो।
थारु अगुवा रेशमलाल चौधरीले आन्दोलनमा घुसपैठ भएको भन्दै सदभाव कायम गर्न केही समय लाग्ने बताएका छन्। उनले २४ घण्टा पछि मात्रै छलफलमा बस्ने भन्दै बाहिरिएको छलफलमा सहभागीले जानकारी दिएका छन्।