रूपन्देहीको सदरमुकाम भैरहवामा आजबिहान ११ बजेदेखि ९ गते बुधबार साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।
जिल्लाको भैरहवा क्षेत्रमा शुक्रबार दिनभरको अवस्था सामान्य रहेपनि सदरमुकाम बाहिरको अवस्था तनावग्रस्त बनेपछि निषेधाज्ञा आदेश जारी गरेको हो।
यसैबीच भैरहवामा भदौ ३ गते बन्दकर्ता र प्रतिकार गर्नेहरुबीच भएको झडपको क्रममा हराइरहेका एक प्रदर्शनकारी बिहीबार स्थानीय डण्डा खोलामा मृत अवस्थामा फेला परेपछि स्थिति झन चर्किएको छ।
लुम्बिनी नगरपालिका– १० बस्ने १८ वर्षीय सुनील भन्ने सुधीराम यादवको मृत्यु भएपछि आन्दोलनकारीले शव यात्रा गरेर शहिद घोषणा गर्न माग गर्दै आन्दोलन चर्काउने भएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले निषेधाज्ञा जारी गरेको सेतोपाटीलाई बताए।
प्रजिअ ढकालका अनुसार बुधबार भएको दोहोरो झडपको क्रममा यादव र उनका अन्य २ दाजु भाइ ज्यान जोगाउन डण्डा खोलामा हाम फालेका थिए। खोलाबाट २ जना निस्किए पनि सुनिल भने हराएका थिए।
प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार भैरहवाको पूर्वमा वसन्तपुर गाविस, पश्चिममा गौतमबुद्ध विमानस्थलको मायांदेवी चोक, उत्तरमा विद्युत कार्यालय र दक्षिणमा बेलहिया नाकासम्म निषेधाज्ञा रहने छ।
जिल्लाको वसन्तपुर, मर्चवार, बनगाई, मर्यादपुर क्षेत्र तनावग्रस्त रह्यो। भैरहवा(लुम्बिनी सडकखण्डको बनगाईमा रहेको प्रहरीको अस्थाई चौकीमा रहेका सामानहरु बाहिर निकाली आन्दोलनकारीहरुले जलाएका छन्।
त्यसैगरी मर्यादपुरमा रहेको प्रहरी चौकी आक्रमणको प्रयास भएपछि प्रहरीले हवाई फायर गरी आन्दोलनकारीलाई तितरवितर पारेको प्रहरीले जनाएको छ।
प्रहरीले चौकी आक्रमणमा संलग्न केहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बिहीबार भैरहवामा भएको घटनामा प्रहरीले वेवास्ता गरेको भन्दै शुक्रवार दिनभर सदरमुकाम बाहिरका प्रहरीमाथी आन्दोलनकारीले निशाना बनाएका थिए। आन्दोलनकारीहरुले बनगाईमा एउटा मोटरसाईकल समेत जलाएको बताइएको छ।
सदरमुकाम भैरहवा, बुटवल लगायतका जिल्लाको उत्तरीक्षेत्र भने सामान्य बन्दै गएको छ। उता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शुक्रबार सर्वपक्षीय भेला गरेको छ। भेलामा मधेशी मोर्चा र थारुहटका नेताहरु भने सहभागी भएनन्। भेलाले शनिबार सद्धभाव र्याली निकाल्ने निर्णय गरेको थियो।
यातायातका साधन निर्वाध रुपमा सञ्चालनमा आएपनि भैरहवा बजारका पसल तथा व्यवसाय भने पुरै खुल्न सकेनन्।
शुक्रवार बिहान कर्फ्यु आदेश हटेपछि सर्वसाधारणले सद्भाव र्याली निकालेका थिए।