सीमाङ्कनको विरोधमा उत्रिएको संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालको क्रममा आज पनि सप्तरीको जनजीवन प्रभावित बनेको छ।
सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले आह्वान गरेको तराई मधेस बन्दको क्रममा आज पनि सप्तरीमा बन्दको निकै प्रभाव परेको छ।
मोर्चाको बन्दले पूर्व–पश्चिम राजमार्गमा हजारौँ सवारीसाधन रोकी राखेका छन् भने राजमार्गका ठाउँठाउँमा बन्दकर्ता घुमिरहेका छन्।
त्यस्तै, मोर्चाका कार्यकर्ताले सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न दिएका छैनन् भने राजमार्गअन्तर्गतको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका ठाउँमा ढुङ्गा थुपारेर सडक अवरुद्ध पारेका छन्
साथै, जिल्लामा रहेका कलकारखाना, उद्योग, बजार, पसल, शिक्षण संस्थासमेत बन्द रहेका बताइएको छ । लामो समयसम्म भएको बन्दले विद्यार्थी पढाइबाट वञ्चित रहेको विद्यार्थी श्याम राजकले गुनासो गरे।
यसैगरी, लामो समयदेखिको बन्दले सप्तरी जिल्लाको जनजीवन प्रभावित हुनुका साथै जिल्लामा सवारीसाधन नचल्दा यहाँका जनतालाई कहीँ आउनजानमा समस्या हुने गरेको तरही–३ का कौशलकिशोर साहले गुनासो गरे।
गत मङ्गलबार सप्तरीको भारदहमा प्रहरीसँगको झडपमा परी स्थानीय ३५ वर्षीय राजीव राउतको मृत्यु भएपछि जिल्लामा बन्दबाट अझै प्रभाव परेको हो।
मधेसी मोर्चा सप्तरीले आज पनि भारदहमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरिरहेका छन् भने सो क्षेत्रको अवस्था आज पनि तनावग्रस्त नै रहेको बताइएको छ।
यता प्रहरीले भने हिजोकोे तुलनामा भारदहमा आज केही शान्त देखिएको जनाएको छ। यस्तै, मोर्चाले राजविराजमा समेत प्रदर्शन गर्नुका साथै बजार, पसल, यातायात तथा शिक्षणसंस्था पूर्णरुपमा ठप्प पारेको छ। रासस