आन्दोलनका क्रममा मधेसमा कसैले ज्यान गुमाए सहिद घोषणा गर्दै प्रादेशिक सरकार बनेपछि पचास लाख क्षतिपूर्ति दिने निर्णय मधेस केन्द्रीत दलहरुले गरेका छन्।
बुधबार राजधानीमा बसेको मधेस केन्द्रीत दलहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको सद्भावनाका राजेन्द्र महतोले सेतोपाटीलाई बताए।
‘यो कठोर आन्दोलनमा लाग्नेको उच्च मूल्यांकन हामीले गर्नैपर्छ, यो हामीले होस हवासमा गरिएको निर्णय हो,’ उनले भने,‘ यो एउटा व्यक्तिको निर्णय होइन मोर्चाको निर्णय हो।’
मधेसमा आन्दोलन उचाल्न र जनतालाई भड्काउनका लागि पहिले नै ज्यानको मूल्य पचास लाख तोकेर सहिदको अपमान गर्न खोजेको भन्दै यो निर्णयको सबैतिरबाट आलोचना भइरहेको छ।
‘थरुहट र मधेशलगायत यस गठबन्धनमा आवद्ध रहेका घटकहरुको आव्हानमा आन्दोलनमा ज्यान गुमाउने शहिद परिवारहरुलाई आन्दोलनवाट बन्ने प्रादेशिक सरकारले शहिद परिवारलाई पचास लाख आर्थिक सहयोग उपलब्ध गराउनका साथै शहिद परिवारलाई निशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रादेशिक सरकारले वहन गर्नेछ भन्ने प्रतिबद्धता सहितको निर्णय गरिएको छ,’ मोर्चाका नेताहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तीमा राजेन्द्र महतो, उपेनद्र यादव, महन्थ ठाकूर र रामनरेश यादवले हस्ताक्षर गरेका छन्।