नेपाली काँग्रेसका सभासद अमरेश कुमार सिंहले आफूलाई गोलघरमा थुन्न गृहमन्त्री बामदेव गौतमलाई चुनौति दिएका छन्।
गृहमन्त्री समेत उपस्थित संसदको राज्यव्यवस्था समितिको बैठकमा मंगलबार उनले, ‘गृहमन्त्रालयले सक्छ भने यस्तो देश बिखण्डन गर्नुपर्छ भनेर बोल्ने सभासदलाई जेलमा हालोस्। जेल पनि अरु होइन गोलघरमा हालोस्।'
कैलालीमा केहीसमय अघि सार्वजनिक कार्यक्रममा 'सामाजिक सद्भाव भड्काउने' अभिव्यक्ति दिएको भन्दै उनको अडियो रेकर्ड गृहमन्त्री गौतमले सोमबार संसदलाई बुझाएका थिए।
यहि बिषयमा छलफल गर्न समितिले आज गृहमन्त्री गौतम समेत सम्बन्धित सभासदहरुलाई बैठकमा बोलाएको थियो।
बैठकमा सभासद सिंहले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै तत्कालै समितिका अर्का सदस्य मानप्रसाद खत्रीले आपत्ति जनाएका थिए। एमाले सभासद खत्रीले अब सुदूरपश्चिममा गएर विखण्डनको भाषण गर्ने र साम्प्रदायिक दंगा भड्काउन खोज्नेलाई प्रशासनले कारबाही नगर्ने भएकाले जनताकै तहबाट कारबाही गर्ने चेतावनी समेत दिएका थिए।
सिंहलाई लक्षित गर्दै खत्रीले भने, ‘अब त्यस्ता मान्छे सुदूरपश्चिम गएर बिखण्डनका धम्की दिए भने प्रशासनलाई भन्दैनौं, राज्यसँग गुहार माग्दनौं, हामी जनताको बल प्रयोग गरेर लखेट्छौं।’