तस्विरः रासस
सभामुख सुवासचन्द्र नेम्वाङले मंगलबार सप्तरीमा भएको गोलीकाण्डबारे सदनमा जानकारी दिन गृहमन्त्रीलाई रूलिङ गरेका छन्।
सप्तरीको भारदहमा सुरक्षाकर्मीको गोली लागि आज बिहान एक जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइतेलाई धरानस्थित विपी कोइराला अस्पतालमा उपचारका लागि लगिएको छ।
मंगलबारको व्यवस्थापीका संसदको बैठकमा सभासद्हरुले भारदहमा सीमांकनको विरोधमा भएको प्रदर्शनमा राज्यले दमन गरेको भन्दै प्रहरीको गोलीबाट १ जनाको ज्यान गएको विषयमा सदनमा आवाज उठाएका थिए।
सभासद् गंगाप्रसाद यादवले राज्यले दमनको नीति लिएकाले त्यसलाई त्यागेर मृतक राजीव राउतलाई सहिद घोषणा गर्न माग गरेका थिए। यस्तै सद्भावनाका लक्ष्मणलाल कर्णले प्रमुख चार दलका शीर्ष चार नेताले देशमा आगो लगाउने काम गरेको बताए।
‘चार नेताको ठेकेदारीले देशमा आगो लागिरहेको छ। ठाउँ ठाउँमा जनता मरेका छन्। सप्तरीबासीले के अपराध गरेका छन्, शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोली प्रहार गरेको छ। प्रहरीलाई शान्तिपूर्ण प्रशर्दनमा गोली प्रहार गर्ने अधिकार कसले दिएको छ। १२ जना घाइते भएका छन्', कर्णले भने।