संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट मोर्चाको अनिश्चितकालीन बन्दका कारण पूर्वाञ्चलको जनजीवन कष्टकर बन्दै गइरहेको छ।
सार्वजनिक यातायातका साधन लगातार चार दिनदेखि ठप्प भएपछि अलपत्र अवस्थामा रहेका यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न पैदल हिँड्न वा महँगो रिक्सा भाडा तिर्न बाध्य छन्।
विराटनगरका सडकमा रिक्सा र छिटफुटरुपमा मोटरसाइकल गुडिरहेको देखिन्छ । विराटनगरबाट २५ किलोमिटरको दूरीमा रहेको इटहरीसम्मको भाडा रु ७०० सम्म रिक्सा चालकले असुल्ने गरेका छन्।
वैशाख १२ गते भूकम्प र त्यसपछि करिब एक महिनासम्म दिनहुँ आउने गरेका परकम्पका कारण बन्द भएका विद्यालयमा अब फेरि बन्दकर्ताको आह्वानमा गरिएको बन्दले शिक्षण संस्था अतिप्रभावित भएका छन्।
बन्दका कारण भारतबाट पर्याप्त मात्रामा विराटनगर बजारमा तरकारी नभित्रिदा तरकारीको मूल्य ह्वात्तै बढेको छ।
बन्दको प्रभाव सरकारी कार्यालयमा पनि परेको छ । सार्वजनिक यातायातका साधन नचलेपछि सेवाग्राही व्यक्तिगत कामलिएर कार्यालय पुग्न नपाउँदा सधैँ चहलपहल रहने कार्यालयका परिसर यतिखेर सुनसान देखिन्छ। रासस