कञ्चनपुरलाई तराईका जिल्लामा गाभेर प्रदेश बनाइनु पर्ने माग गर्दै थरूहट पक्षधरको आयोजनामा आज धनगढीमा विरोध आम सभा भएको छ।
धनगढीको क्याम्पस चौकमा भएको आमसभामा ठूलो संख्यामा मानिसको सहभागिता रहेको थियो। आम सभालाई थरुहट पक्षधर नेता तथा सभासदहरुले सम्बोधन गरेका थिए।
आम सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष अशोक राईले कैलाली, कञ्चनपुरलाई तराईका जिल्लासँग मिलाएर प्रदेश बनाइनु पर्ने बताए। उनले थरुहटको माग समर्थन गर्नका लागि आफू कैलाली आएको बताए।
विरोध सभालाई सम्बोधन गर्दै वैद्य निकट नेकपा–माओवादीका सचिव देव गुरुङ्गले अग्रगामी संविधान निर्माणका लागि आन्दोलन गर्न आवश्यक रहेको बताए। उनले शीर्ष दलले एकल जातीय राज्य निर्माण गर्न लागेको बताए।
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वीरमान चौधरीले सबै उत्पीडित वर्गको अधिकार प्राप्तीका लागि थरुहट पक्षधरले आन्दोलन सुरु गरेको बताए। उनले कमैया, कमजोर थानेर दलहरुले थारुलाई अधिकार दिन नखोजेको बताए।
सद्भावना पार्टीका केन्द्रीय सदस्य रेशमलाल चौधरीले थारुहरुको छाला कालो भए पनि मन सेतो रहेको बताए। उनले थारूहरू अधिकार र पहिचान माँगेको बताए।
विरोध सभालाई रानाथारु संघर्ष समितिका कैलाली संयोजक मालामती राना, नेपाली काँग्रेसका सभासद तेजुलाल चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद योगेन्द्र थारु, थरुहट तराई पार्टीका सभासद गंगा थारु लागयतकाले सम्बोधन गरेका थिए।
उनीहरुले कैलाली, कञ्चनपुरसहित तराईको चितवनसम्म थरुहट प्रदेश बनाउनु पर्ने माग गरे। विरोध सभामा सहभागि हुन कैलाली, र कञ्चनपुरको विभिन्न ठाउँबाट मानिसहरु ट्रयाक्टर लगायतका साधनमा सहभागि हुन आएकाहरुलाई अखण्ड सुदूरपश्चिम पक्षधरले ठाउँ ठाउँमा अवरोध सृजना गरेका थिए।
धनगढीको हसनपुर क्षेत्रमा स्थिति तनावग्रस्त बनेको थियो। अखण्ड पक्षधरले गरेको अवरोध र नारावाजीका वीच सहभागीहरुलाई सभास्थलसम्म लैजान प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। आम सभामा सहभागि हुन आएकाहरुले प्रहरीले सुरक्षा दिन नसकेको भन्दै केहिवेर नारावाजी समेत गरेका थिए।