स्वायत्त कर्णालीको माग गर्दै आन्दोलनरत जुम्लाको सदरमुकाम खलंगा बजारमा शनिबार अर्धनग्न ससाना बालबालिकाको छुट्टै जुलुस निस्क्यो। तर अहिले सम्म त्यो जुलुसको आयोजक को थियो भनेर पत्ता लागेको छैन।
स्थानीय पत्रकार डीबी बुढाका अनुसार अर्धनग्न जुलुस जिल्ला प्रशासन कार्यालय अघि पुगेर कोणसभामा परिणत भएको थियो।
पत्रकार बुढाका अनुसार, कोणसभामा ७ वर्षिय आरबीस कार्कीले भाषण गरेका थिए।
सात-आठ बर्षका ती अबोध बालबालिकको जुलुसमा सहभागीहरु कमर माथि नाङ्गै आएका थिए। उनीहरुले बोकेको प्लकार्डमा 'हाम्रो भविष्य अन्धकार छ', 'जय माता कर्णाली', 'कर्णाली स्वयत्त प्रदेश घोषणा गर' जस्ता नारा लेखिएका थिए।
बालबालिकालाई आन्दोलनमा प्रयोग गर्नेको खोजी भैरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सेतोपाटीसंग कुरा गर्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले कर्फ्यु हटेपछि खोजी कार्य अझ तीव्र पार्ने बताएका छन्।
‘मैले आफ्नो आँखाले त देखिनँ तर साथीभाइले बालबच्चाको अर्धनग्न जुलुस निकालिएको खबर दिएपछि थाहा पाएँ,’ उनले भने ‘कानुन र अन्तर्राष्ट्रिय सन्धी सम्झौता विरुद्ध हुने गरी बालबालिकालाई यसरी प्रयोग गर्ने को हो पत्ता लगाउन निर्देशन दिइसकेको छु।’
बालबालिकालाई आन्दोलनमा प्रयोग गरेको समाचारले आफू दुखी भएको र अब यस्तो गर्न नदिन सबैलाई आग्रह गरेको पनि उनले बताए।
उनले जुम्लाका राजनीतिक दलहरुसँग पनि यसबारेमा कुरा राखेको बताए। 'राजनीतिक दलहरुले आन्दोलनमा बच्चाबच्चीको प्रयोग आफूहरुले नगरेको जवाफ मलाई दिनुभएको छ,' उनले भने।
बालबालिकालाई जुलुस निकाल्न लगाउने व्यक्ति को हो खोज्न सिडिओ पौडेलले प्रहरी र महिला तथा बालविकास समितिलाई भनेका छन्। बालबालिकालाई जुलुस निकाल्न लगाउने को हो पत्ता लागेपछि कारबाही गर्ने उनले बताए।
‘बालबालिकालाई जुलुस,प्रदर्शन र आन्दोलनमा प्रयोग गर्न पाइँदैन। यस्तो कार्य जसले गरेको भएपनि खोजेर कानुनबमोजिम कारबाही गर्छौँ,’ पौडेलले बताए।
सेतोपाटीसँगको कुराकानीमा एमाले जुम्लाका सचिव आँधी न्यौपानेले पनि राजनीतिक दलले बालबालिकालाई आन्दोलनमा प्रयोग नगरेको बताए।
‘मैले त बेलुका फेसबुक हेरेपछि थाहा पाएको हुँ यसमा राजनीतिक दलहरुको कुनै हात छैन,’ उनले भने, ‘चारदलको सहमतिले गरेको सिमांकन विरुद्ध जुम्ला नै उर्लिएको छ, आफ्ना अभिभावक आएको देखेर बच्चाहरु आफै आएका होलान्।’
शनिबारपछि भने बच्चालाई आन्दोलनमा आउन सकेसम्म रोकेको उनले बताए।
पत्रकार बुढाका अनुसार, बालबालिकाका अभिभावकले आफुहरुले आन्दोलनमा जान बालबालिकालाई नउक्साएको दाबी गरेका छन्।
आन्दोलनमा बालबालिका प्रयोग गरेको बारे मानवअधिकार आयोगले समेत छानविन गरिरहेको छ। उसले स्थानीय राजनीतिक पार्टीहरुलाई सोधेको थियो। पटक पटक सम्पर्क गर्दा पनि आयोगको स्थानीय कार्यालयमा भने सम्पर्क हुन सकेन।