गृहमन्त्री बामदेव गौतमले केही सांसदले नै जातिय र साम्प्रदायिकता भड्काउने, सामाजिक हित विपरित हतियार उठाउने आव्हान गर्ने जस्ता अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाएका छन्।
सोमबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै गृहमन्त्री गौतमले यस्ता अभिव्यक्तिको अडियो रेकर्ड सदनमा बुझाएको बताए।
सभामुख सुवास नेम्वाङले उक्त अडियो रेकर्ड सम्बन्धित समितिमा आवश्यक अध्ययनका लागि पठाउने व्यवस्था मिलाउन सचिवालयलाई निर्देशन दिएका छन्।
गृहमन्त्री गौतमले प्रचलित कानूनको परिधिभित्र रहेर आफ्ना माग र विरोध गर्न पाउने व्यवस्था भएको भन्दै शान्तिपूर्ण रुपमा विरोध गर्न आग्रह गरे।
संसदमा बोल्दै उनले नागरिकको जिउधन र सरकारी सम्पत्तिको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै त्यसका लागि सुरक्षाकर्मीले सामान्य बल प्रयोग गरेको स्पष्ट पारे।
संविधानसभाबाट संविधान जारी गर्न संवाद समितिले तयार पारेको प्रतिवेदनमा विभिन्न विषयमा असहमति जनाउदै २४ गतेदेखि ३१ साउनसम्म विभिन्न ठाउँमा भएका घटनाबारे उनले संसदमा जानकारी गराए।
कास्कीमा साउन २८ गते राती ९:५० मा रामजी बादल, मनोज गुरुङ र नारायण तिवारीलाई मोटरसाइकलमा आएका राजु रानाभाट लगायतको समूहले आक्रमण गर्दा बादलको निधन भएको र रानाभाट र राजेन्द्रमणी लामिछानेलाई पक्राउ गरेको उनले बताए।
त्यसैगरी राजधानीमा साउन २९ गते राप्रपा नेपालका नेता तथा कार्यकर्ताले निषेधित क्षेत्रमा प्रवेश गर्दै प्रहरी र सर्वसाधारणमाथि आक्रमण गर्न थालेपछि सात सेल अस्रुग्यास र सामान्य बल प्रयोगमा केही घाइते भएको पनि उनले जानकारी दिए। नवलपरासीमा साउन ३० गते केही व्यक्तिहरुले राजमार्ग अवरोध गर्न खोजे पनि सडक खोल्न सामान्य बल प्रयोग गरेको र बैजनाथ चौधरीको घरमा आक्रमण गर्दा सामान्य बल प्रयोग गरी स्थिती नियन्त्रणमा लिएको गृहमन्त्री गौतमले स्पष्ट पारे।
हिजो नेकपा-माओवादी लगायत ३३ दलको आव्हानमा भएको बन्दले सामान्य असर परेको र केही व्यक्तिहरु पक्राउ परे पनि सोधपूछ गरी छाडिएको बताए।
त्यसैगरी, जुम्लामा पनि आठ दिनदेखि निरन्तर जारी आन्दोलनमा हिजो जिल्लास्थित सरकारी कार्यलयहरुमा तोडफोड भएपछि सामान्य बल प्रयोग गरिएको उनले सदनमा जानकारी गराए। हिजो बेलुकादेखि कर्फ्यू जारी गर्नुपर्दा जुम्लाको स्थिति तनावपूर्ण रहेको उनले जानकारी दिए।
मुगुमा पनि स्थानीयहरुको एक समूहले जिल्ला स्वास्थ्य कार्यलय बन्द गराउन खोजेको गृहमन्त्री गौतमले जानकारी दिए।
सुर्खेतमा २५ गते भएको घटनामा निधन भएका व्यक्तिका आफन्तलाई प्रतिव्यक्ति १० लाखका दरले उपलब्ध गराई घाइतेको उपचार गराएको उनले संसदलाई बताए।