काठमाडौंबाट उडेको इन्डियन एयरलाइन्सको विमान (आइसी–८१४) अपहरित भएको तेह्र वर्षपछि अपहरणबारे भारत सरकारलाई अग्रिम जानकारी रहेको रहस्योद्घाटन भएको छ।
'भारत सरकारले चाहेको भए त्यो अपहरण रोक्न सकिन्थ्यो तर उसले यसलाई गम्भीरतासाथ लिएन,' दिल्लीबाट प्रकाशित द सन्डे गार्डियन (अगस्ट १८, २०१३) मा शैलेशकुमारको बाइलाइनसहित छापिएको समाचारमा उल्लेख छ। समाचारका अनुसार सिलोङका एकजना व्यापारी उमाशंकर मिश्रले मेघालय सरकारका मुख्य सचिवलाई विमान अपहरण हुनुभन्दा ८४ दिनपहिला अर्थात २९ सेप्टेम्बर १९९९ मा अपहरणको सम्भावनाबारे सूचित गरेका थिए।
काठमाडौं, नेपालबाट प्लेन अपहरित हुनसक्ने' जनाउ दिँदै उनले यो सूचना पाकिस्तानी इन्टेलिजेन्स एजेन्सी आइएसआईका एक पूर्वएजेन्ट इब्राहिम हुसैनबाट पाएको दाबी समेत गरेका थिए।
सन्डे गार्डियनको रिपोर्ट भन्दछ, 'मिश्रले लेखेको चिठी उक्त पत्रिकासँग सुरक्षित छ।' डिसेम्बर २४, १९९९ का दिन काठमाडौंबाट दिल्ली जान लागेको आइसी ८१४ अपहरित भई अफगानिस्तानको कान्दाहार पुर्याइएको थियो।
समाचारमा अगाडि उल्लेख छ, 'मिश्रले पाकिस्तानीहरूको एउटा समूह केही सिबिआई अधिकारीहरू, प्रहरी तथा मेघालय राज्यका अधिकारीहरूको कथित सहयोगका साथ काठमाडौंबाट इन्डियन विमानलाई अपहरण गर्ने योजनामा छन्। उनीहरू २–३ महिनाभित्र यो योजनालाई सफलतासाथ कार्यान्वयन गर्न चाहन्छन्।'
मिश्रले यो षड्यन्त्रबारे हुसैनबाट सूचना हासिल गरेका थिए। हुसैन सिलोङको जेलरोडमा 'ताज लन्ड्री' सञ्चालन गर्थे। मिश्रले आफूलाई आइएसआई एजेन्टका रुपमा भर्ती गरिएको तर पछि अपहरणका योजनाकर्ताहरूसँग वैमनस्य हुन गई अलग भएको समाचारमा उल्लेख छ। त्यसबेला भारतीय सुरक्षा निकायहरुले विमान अपहरणको एकलौटी दोष नेपाललाई लगाएर यसैका कारण नेपाल–भारत सम्बन्धमा चिसोपना आएको थियो।