नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले कसैलाई पन्छाएर चुनाबमा जान नहुने बताएका छन्। नेता नेपालले असन्तुष्ट दललाई पनि सहमतिमा ल्याएर तोकिएकै समयमा निर्बाचन गर्नु पर्ने बताए। पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीको पहिलो साधारणसभाको आईतवार पोखरामा उद्घाटन गर्दै नेता नेपालले बैद्य नेतृत्वको मोर्चासँग पुन छलफल गरी सहमतिको लागि प्रयास गर्ने बताए। एकिकृत माओबादीले बैद्य माओबादीलाई पन्छाएर अघिबढ्न खोजेपनि आफूहरुलाई मान्य नहुने उनले बताए।
'चुनावबारे आशंका गर्नुपर्दैन उनले भने – बैद्यलाई मात्र समेट्नुपर्ने खाँचो छ। 'नेकपा माओवादी इमान्दारिकताको साथ चुनाबमा सहभागि हुने प्रतिबद्धतासहित आए सहमतिकै आधारमा निर्बाचन सम्पन्न हुने उनको दाबि छ। असन्तुष्ट दलहरुले उठाएका मागहरु सकारात्मक रहेको भन्दै उनले कुनै पार्टी विशेषको चुनाव नभएकाले देशको सर्बोत्तम हितको लागि पनि निर्बाचनको विकल्प नभएको बताए ।
मंसिरमा संबिधानसभाको निर्बाचन सम्पन्न गरी चैत्रमा स्थानिय निकायको निर्बाचन समेत गर्नुपर्ने उनले बताए। आगामी संबिधानसभाको म्याद एक बर्ष मात्र हुने ६ महिनाभित्र मस्यौदा तयार गर्नुपर्नेमा उनले जोड दिएका छन्। एक बर्षभित्र पनि सहमति नभएका बिषयलाई जनमत संग्रहमा लान सकिने उनको धारणा छ। उनले निर्बाचनको बेला पार्टीभित्रको आन्तरिक गुठबन्दीको अन्त्य गरी एकजुट भएर अघि बढ्नुपर्ने आबश्यकता औल्याएका छन्।
नेता नेपालले पार्टीभित्रको विवादलाई अध्यक्षको निर्णयनै सर्बसम्मत हुने भएकाले केन्द्रदेखि स्थानिय तहसम्म सबै एकजुट भएर निर्बाचनमा होमिन उनले कार्यकर्तालाई निर्देशन पनि दिए। नेताको पछि भन्दा पनि सिद्धान्तको पछि लाग्न उनले कार्यकर्तालाई आग्रह गरे। अबको निर्बाचनमा जित्ने ब्यक्तिले मात्र टिकट पाउने र त्यसमा मतमतान्तर गर्न आबश्यक नरहेको उनले बताए।
प्रकाशित मिति: 2013-08-18 18:27:52