६ प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै आह्वान गरिएको दुई दिने बन्दको पहिलो दिन आइतबार राजधानीसहित मुलुकभरको जनजीवन अस्तव्यस्त भएको छ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसहित विजयकुमार गच्छदारबाहेक अन्य मधेसवादी दल र जनजातिले गरेको बन्दले बिहानैदेखि मुलुकभरको जनजीवन प्रभावित भएको हो।
बन्दका कारण राजधानीको जनजीवन बिहानैदेखि प्रभावित भएको छ। सडकमा फाट्टफुट्ट निजी सवारी साधनबाहेक अन्य कुनै पनि सार्वजनिक सवारी साधन चलेका छैनन्। अरू दिनको बन्दको तुलनामा आइतबार सडकमा मोटरसाइकलको संख्या पनि निकै कममात्र देखिएका छन्।
यसैबीच प्रहरीले राजधानीको सुरक्षाव्यवस्था अत्यान्त कडा पारेको छ। राजधानीका विभिन्न चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। सुरक्षाकर्मीले केही स्थानबाट बन्दकर्तालाई नियन्त्रणमा समेत लिएका छन्।
बन्द गराउँदै हिँडेका संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्षसहित ६ दर्जन नेता कार्यकर्तालाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
कालिमाटी बल्खु क्षेत्रबाट १४ जना, कोटेश्वरबाट ६ जना र रत्नपार्क क्षेत्रबाट ५ जना कुपण्डोलबाट सात जनासहित पक्राउ गरेको हो।
यसैवीच बन्दकर्ताले बबरमहलमा बा २ ख ९६६१ नम्बरको बसमा तोडफोड गरेका छन्।
उपत्यका बाहिर पनि बिहानै देखि बन्दको प्रभाव छ। तराईका जिल्लाहरुमा भने दोहोरो बन्द परेको छ । थरूहट तराई संघर्ष समितिले एक सातादेखि लगातार बन्द गर्दै आएको छ। लगातारको बन्दले थारु बाहुल्यता रहेको कैलाली, बाँके, बर्दिया, नवलपरासी, सुनसरी लगायतको जनजीवन कष्टकर बनेको छ।
बन्दका कारण सवारी साधन, बजार तथा उद्योगधन्दा बन्द छन्। लामो तथा छोटो दूरीका कुनै पनि सवारी चलेका छैनन्।
यसैबीच बन्दमा सवारी गुडाएको भन्दै पत्रकार ऋषि धमला चढेको गाडी तोडफोड गरेका छन्। उनी सवार बा ५च ४७७८ कार बन्दकर्ताले वीर अस्प्ताल अगाडि तोडफोड गरेका हुन्।
बनेपा
नेकपा–माओवादीसहित तराईकेन्द्रित दलले आह्वान गरेको दुईदिने नेपाल बन्दको पहिलो दिन आज काभ्रेपलाञ्चोकको जनजीवन प्रभावित राससको समाचारमा जनाइएको छ।
बनेपा, धुलिखेल, पाँचखाल, भकुन्डे, पनौतीलगायत क्षेत्रमा यातायातका साधन नचलेको त था बजार/पसल पनि बन्द भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए। बन्दका कारण शैक्षिक संस्था पनि प्रभावित भएका छन्।
सप्तरी
‘समग्र मधेस एक प्रदेश’को माग गर्दै मधेसी मोर्चासहितका दलले आह्वान गरेको दुईदिने आमहडतालको आज पहिलो दिन बिहानैदेखि सप्तरीसहित पूर्वी तराईको जनजीवन प्रभावित भएको राससमा समाचार छ।
सङ्घीय समाजवादी फोरम नेपाल, स्भावना पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टी र नेकपा–माओवादीलगायत विभिन्न दलका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा बसी सडक बन्द गराएका छन् ।
बन्दका कारण राजविराजबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने कलकारखाना, उद्योग, बजार पसल, शिक्षण संस्थासमेत बन्द छन्।