चार दलले कैलाली, कञ्चनपुरलाई पहाडी जिल्लामा मिलाएर प्रदेश बनाउन सहमति गरेपछि अखण्ड सुदूरपश्चिमको आन्दोलन फिर्ता भएको छ।
दुई दिनसम्म आमहडताल गरेको सो पक्षले आज बिहान ९ बजेबाट बन्द फिर्ता लिएको जनाएको छ। शीर्ष नेताहरुले सुदूरपश्चिमलाई नटुक्रयाएपछि आहडताल फिर्ता लिएको अखण्ड सुदूरपश्चिम संयुक्त संघर्ष समितिका संयोजक गोपाल देउवाले जानकारी दिए।
संघीयतामा सुदूरपश्चिम टुक्र्याउन नहुने भन्दै कैलाली, कञ्चनपुर र डडेल्धुरामा अखण्डको आन्दोलन शुरु भएको थियो। दलहरुबीच शनिबार राति भएको सहमतिसंगै तीन वटै जिल्लामा अखण्डको आन्दोलन फिर्ता भएको छ।
तर, कैलाली कञ्चनपुरलाई तराईका जिल्लासंग मिलाएर प्रदेश बनाइनु पर्नेलगायतका माग राख्दै हिजोदेखि आमहड्तालमा उत्रेको थरुहट/थारुवान संघर्ष समिति कैलालीको आमहड्ताल भने यथावत रहेको छ।
बहुसंख्यक थारु समुदायका माग सम्बोधन नगरि संघीयतामा सहमति भएकाले आन्दोलनलाई अझ शसक्त बनाइने सो पक्षले जनाएको छ। थारुवान संघर्ष समितिका संयोजक लाहुराम चौधरीले थारुवान प्रदेशको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए।
यसैगरी, संविधानमा हिन्दू राज्य उल्लेख गरिनु पर्ने माग सहित आन्दोलन थालेको हिन्दू राष्ट्र संघर्ष समिति कैलालीले आन्दोलन अझ शसक्त बनाउने निर्णय गरेको छ।
नेपाललाई संवैधानिक रुपमा हिन्दू राष्ट्र कायम गर्न जनताले दिएका सुझाव समेट्न दलहरु आनाकानी गरिरहेकाले कैलालीमा आन्दोलनलाई अझ शसक्त बनाइने संघर्ष समितिका संयोजक हरि रेग्मीले जानकारी दिए।
केही दिनयता कैलालीमा भईरहेका आम हड्ताल, प्रदर्शनका कारण बजार, यातायात, शिक्षणसंस्था बन्द हँुदा सर्वसाधारणको जनजीवन नराम्ररी प्रभावित भएको छ। सर्वसाधारणले बन्दको विकल्प खोज्न अनुरोध गरिरहेका छन्।