प्रमुख राजनीतिक दलहरूले छ प्रदेश बनाउन लिखित सहमति गरेको विषयमा आपत्ति जनाउँदै संघीय लिम्बुवान पार्टी नेपालले आकस्मिक बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा अहिले बैठक सुरु भएको छ।
छ वा आठ जे प्रदेश भए पनि नमान्ने जनाउँदै आएको उक्त पार्टीले अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। ‘दलहरूले छ प्रदेशमा सहमति गरेका छन्, जुन लिम्बुवानको भावना विपरीत छ,' पार्टीका उपाध्यक्ष ज्ञानुहाङ आङ्बुङले सेतोपाटीसँग भने, ‘यसको प्रतिक्रिया अब संघर्ष नै हो, आजको बैठकबाट संघर्षका नयाँ कार्यक्रम सार्वजनिक हुँदैछन्।'
यसअघि साउन २१ गते नै लिम्बुवानले संघर्षका कार्यक्रम घोषणा गरेको थियो। लिम्बुवान क्षेत्रभरि बन्द हडताल, भित्तेलेखन, अन्तरक्रियालगायत कार्यक्रम सार्वजनिक गरेको थियो।
अहिले दलहरूबीच भएको सहमतिलाई ‘एकात्मक राज्य'कै निरन्तरता भन्दै लिम्बुवानले त्यसविरुद्व संघर्ष गर्ने चेतावनी दिएको छ। ‘नेपाल सरकार र लिम्बुवानबीच विगतमा भएको सहमतिअनुसार ऐतिहासिक पृष्ठभूमिकाको आधारमा ९ जिल्लालाई आत्मनिर्णयको अधिकारसहित लिम्बुवान राज्य घोषणा गर्नुपर्छ,' अध्यक्ष कुमार लिङ्देनद्वारा साउन २१ गते जारी विज्ञप्तिमा भनिएको छ।