सद्भावना पार्टीका नेता सञ्जयकुमार साहलाई सर्वोच्च अदालतले थुनामै राख्न आदेश दिएको छ।
जिल्ला अदालत र पुनरावेदन अदालत जनकपुरले गरेको फैसलालाई सदर गर्दै प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको इजालसले बुधबार यस्तो फैसला सुनाएको हो।
पाँच जना सर्वसाधरणको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डका मुख्य अभियुक्त साहसहित संलग्न सबैलाई थुनामै राखी थप कारवाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो।
आरोपित साह जिल्ला अदालत धनुषा र पुनरावेदन अदालत जनकपुरको थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्च आइपुगेका थिए। तर सर्वोच्चले साहको मागलाई अस्वीकार गर्दै जिल्ला र पुनरावेदन अदालतकै आदेश सदर गरेकाे हो।
सद्भावनाका नेता साहकै योजना र निर्देशनमा २०६८ वैशाख १८ गते जनकपुरमा बम विस्फोट गराएको दाबी गर्दै दायर मुद्दामा सुनुवाई गर्दै धनुषा जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।