नेपाल प्राध्यापक सङ्घले यही साउन २३ गतेबाट विभिन्न सात विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी रिक्त हुने भएकाले प्राज्ञिक प्रखरता र प्रशासनिक दक्षतायुक्त, संस्थाको स्वायत्तताप्रति सर्वथा दृढ र स्वाभिमानी तथा स्वच्छ चरित्रवान व्यक्तिलाई नियुक्त गर्न माग गरेको छ।
सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले बुधबार विज्ञप्ति जारी गरी विश्वविद्यालय उद्देश्यअनुरूप समसामयिक विश्व परिवेशमा प्रतिस्पर्धा गर्दै उच्च शिक्षाको केन्द्रका रूपमा विकसित हुुन विश्वविद्यालयको चातुर्दिक विकासको मूल लक्ष्य प्राप्तिका निमित्त विश्वविद्यालयलाई हाँक्ने नेतृत्व आवश्यक रहेको बताएका छन्।
पदाधिकारीको नियुक्तिमा भएको राजनीतिक भागबन्डाले विश्वविद्यालयको मूल्य मान्यतामाथि नै आँच आएको तीतो अनुभव अब दोहोरिन दिन नहुने उनको भनाई छ।
विश्वविद्यालय दलीय राजनीतिक भागबन्डा प्रदर्शन गर्ने रङ्गशाला होइनन् र हुन पनि सक्दैनन्। यस विषयमा नेपाल प्राध्यापक सङ्घ गम्भीर एवम् पूर्ण सचेत छ उपाध्यायले विज्ञप्तिमा भनेका छन्। रासस