व्यवस्थापिका–संसद्को सोमबारको बैठकको शून्य समयमा सांसदले आ–आफ्ना निर्वाचन क्षेत्रका विकासका समस्या र त्यस निम्ति सरकारले पर्याप्त रकम विनियोजन नगरेको गुनासो गरे।
उनीहरूले भूकम्प, बाढीपहिरोबाट पीडित भएकालाई राहत रकम वितरणमा भएको विलम्ब, प्राकृतिक विपत्तिबाट पालमा बसेकाहरूको कष्टकर जीवन र त्यहाँ फैलिएको झाडा, टाइफाइडलगायत रोगको निःशुल्क उपचारको व्यवस्था, काठमाडौँ उपत्यकाका भूकम्पबाट जोगिएका जीर्ण पुरातात्विक सम्पदाको संरक्षणका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए।
सत्ता साझेदार दल नेकपा (एमाले) सांसदले चालु आवको बजेटको विरोध गर्नुभयो भने सत्तापक्षका विधायकले त्यसको समर्थन गरे। केही सांसदले बाजा बजाएर चीनबाट ल्याइएका जहाज थन्किएकामा चिन्ता व्यक्त गर्दैै छानबिनको माग गरे। केहीले भैँचालोपछिको पुनःनिर्माण एवम् नवनिर्माणका लागि पुनःनिर्माण प्राधिकरण गठन नभएकामा सरकारको आलोचना गरे।
शून्य समयमा सांसदहरू राजाराम स्याङ्तान, राजेन्द्रकुमार केसी, राजेश्वरी देवी, राज्यलक्ष्मी श्रेष्ठ (काठमाडौँ), राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट), राधाकृष्ण कँडेल, राधादेवी तिमिल्सिना, रामअयोध्याप्रसाद यादव, रामचन्द्र पोखरेल, रामदयाल यादव, रामदुलारी चौधरी, रामनारायण बिडारी, राममाया बोगटी, रामवीर मानन्धर, रामहरि खतिवडा, रामेश्वर फुयाँल, रेवतीरमण भण्डारी, रेशमबहादुर बानियाँ, ललिताकुमारी रेग्मी, लक्ष्मीप्रसाद पोखरेल, लालबहादुर रावल, विकास लम्साल, विन्दादेवी आलेमगर, विनोद श्रेष्ठ, विशाल भट्टराई र वैजनाथ चौधरीले भाग लिएका थिए। रासस