सोमबार साँझ वैज्ञानिक एंवम् भारतका पूर्व राष्ट्रपति अब्दुल कलामको निधनले सामाजिक सञ्जाल र अनलाइन समाचार भरिए। भारतका गृहमन्त्री राजनाथ सिंहले कलामको अचानक निधनले दुःखी भएको ट्वीट गरे। हो, वास्तवमै कलामको निधन अचानक नै भएको थियो। दिउँसोसम्म सामान्य रहेका कलामले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो मृत्यु हुनु ९ घण्टा अघि सिलोङ जान लागेको बताएका थिए। कमै मात्र मानिस यस्ता हुन्छन्, जो बोल्दाबोल्दै संसार त्याग्न सक्छन्।
सोमबार उनी सिलोङमा इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टको कार्यक्रममा प्रवचन दिन पुगेका थिए। स्थानीय समय अनुसार साँझ साढे छ बजे कार्यक्रममा बोलिरहेका उनी एक्कासी ढलेका थिए। गम्भीर अवस्थामा उनलाई सिलोङको बेथानी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले उनलाई साँझ पौने ८ बजे मृत घोषित गरेको थियो। उनको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक मार्गदर्शक गुमाएकाको टिप्पणी गरेका छन्। कलामले मिसाइल र रकेट प्रविधिको विकासमा भारतलाई साँच्चै नै मार्गदर्शन गरेका हुन्। एउटा डुंगा चालकको छोराबाट संसारको विशाल लोकतन्त्रको राष्ट्रपति बनेका उनको आफ्नो मार्गदर्शन पनि सबैका लागि प्रेरणादायी नै छ।
सन् १९३१ को अक्टोबर १५ मा तमिलनाडु राज्यको रामेश्वरमको मुस्लिम परिवारमा जन्मेका अब्दुल कलामका बुवा जनिलाबुद्धिन डुंगा चलाउथे। उनकी आमा गृहणी थिइन्। उनका सात भाइबहिनी थिए। कलामले परिवारलाई सघाउन ८ वर्षको उमेरदेखि नै काम गर्न थाले। स्कुले पढाई सकेपछि कलामले बुवालाई आर्थिक रुपले सघाउन पत्रिका बाँड्ने काम पनि गरेका थिए। संघर्ष गर्दै पढाइलाई निरन्तरता दिएका कलामले मद्रास विश्वविद्यालयबाट सन् १९५४ मा भौतिकशास्त्रमा ग्य्राजुएसन सकेका थिए। भौतिकशास्त्रको अध्ययनले चित्त नबुझेपछि उनी सन् १९५५ मा एरोस्पेसिस अध्ययन गर्न मद्रास गए। १९६० मा एरोस्पेसिसको पढाई सकेपछि भारत सरकारको डिफेन्स रिसर्च एण्ड डेभ्लोपमेन्ट अर्गनाइजेशनमा वैज्ञानिकको रुपमा जागिर सुरु गरे। कलामले सुरुमा भारतीय सेनाका लागि साना हेलिकोप्टर बनाउने काम थालेका थिए। १९६३–६४ मा उनी केही खोजका लागि अमेरिकी अनुसन्धान संस्था (नासा)मा पनि पुगेका थिए।
सन् १९६९ मा उनलाई इन्डियन स्पेश रिसर्च अर्गनाइजेनलमा सरुवा गरियो। त्यहाँ उनले अग्नी र पृथ्वी मिसाइलको परीक्षणमा महत्वपूर्ण भूमिका खेले। १९७४ को भारतको पहिलो न्युक्लियर परीक्षणमा पनि उनको विशेष भूमिका थियो। १९९९ देखि २००१ सम्म उनले भारत सरकारको प्रमुख वैज्ञानिक सल्लाहकार भएर काम गरेका थिए। उनले सन् १९९८ को भारतको पोखरान – २ न्युक्लियर परीक्षणमा कलामले उल्लेखनीय भूमिका निभाए। त्यतिबेला मिसाइल परीक्षणमा सफलता पाएकोले उनलाई धेरैले 'मिसाइल म्यान'को उपनाम दिएका थिए। उनलाई रकेट र मिसाइल प्रविधिका महारथी मानिन्छ।
तत्कालीन सत्तासिन भारतीय जनता पार्टी र विपक्षी भारतीय कंग्रेसको पनि समर्थन उनी सन् २००२ देखि २००७ सम्म भारतको ११ राष्ट्रपति बनेका थिए। संघर्षशील विद्यार्थी, चम्किला वैज्ञानिक र राष्ट्रपतिसम्मको उनको यात्राको सम्मान गर्दै सन् १९९७ मा उनलाई भारतकै सबैभन्दा ठूलो पुरस्कार भारत रत्न प्रदान गरिएको थियो। उनले अरु थुप्रै पुरस्कार र सम्मान पाएका छन्। उनको निधनमा भारत सरकारले ७ दिने शोकको घोषणा गरेको छ।
कलामले ‘विङ्ग अफ फायर‘, ‘इण्डिया २०२०‘ लगायतका पुस्तक लेखेका छन्। उनका पुस्तक विभिन्न भाषामा अनुवाद भएका छन्। उनले पछिल्लो समयमा लेखेको पुस्तक ‘अ मेनिफेस्टो फर चेन्ज‘ (२०१४) हो। उनी भागवत गीता र कुरान अध्ययन गर्दथे।
सपना त्यो होइन जुन तिमी सुतेको बेला देख्छौ, सपना त्यो हो जसले तिमीलाई सुत्न दिँदैन्। सपनालाई यथार्थमा बदल्नका लागि पहिला सपना देख्नु पर्छ, भन्थे कलाम। तर उनले आफूले पुरा गर्न नसकेको सपना आमाबुवाको घरमा २४ सै घण्टा बिजुलीको सुविधा दिन नसकेको थियो। उनले सार्वजनिक रुपमै त्यो कुरा सम्झँदा आफूलाई दुःख लाग्ने बताएका थिए।
८४ वर्षको उमेरमा पनि कलाम सक्रिय जीवन बाँचिरहेका थिए। विद्यार्थीसँगको छलफल र कुराकानीमा उनी रमाइरहेका थिए। एनडिटिभीले भनेको छ–सानैदेखि पढाइमा रुचि भएका कलामले जीवनका अन्तिम क्षणहरु पनि विद्यार्थीसँग नै बिताए। यो एक संयोग पनि हो। (एजेन्सीको सहयोगमा)