भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको सोमबार साँझ निधन भएको छ।
सोमबार सिलोङमा भएको एक कार्यक्रममा अचानक ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमै उनको मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टी गरेका छन्।
८४ वर्षे कलाम सन् २००२ देखि सन् २००७ सम्म भारतका राष्ट्रपति बनेका थिए। सन् १९३१ अक्टुबर १५ मा तमिल्लाणुको रामेश्वरममा जन्मिएका कलाम भारतका ११ औं राष्ट्रपति बनेका हुन्।
पूर्व राष्ट्रपति कलाम सोमबार साँझ ६: ४५ बजे आईआईएम मा एक कार्यक्रमका दौरान लडेका थिए। तत्कालै उनलाई अस्पताल लगिएको थियो। शिलोङका बेसनी अस्पतालका अनुसार साँझ ७ बजे उनको निधन भएको हो।
उनी सन् २००२ मा भारतका एघारौं राष्ट्रपति बनेका थिए। आफ्नो पुरा जिन्दगी शिक्षामा समर्पित गरेका कलामले १९९७ मा भारतका सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित भएका थिए।
मिसाइल म्यानका नामले चिनिने अब्दुल कलामको अन्तिम ट्विट, ‘लिवेबल प्लेनेट अर्थमा हुने आईआईएमको एक कार्यक्रममा भाग लिनको लागि सिलोङ जाँदैछु।’
यसैबीच भारतका गृहमन्त्री राजनाथ सिंहले कलामको निधनले आफू दुःखी भएको बताएका छन्। ‘उनको अचानक निधन भएको निधनले म स्तब्ध भएको छु। उनी एक पूरा पीढ़ीका लागि प्रेरणाका स्रोत थिए।’
यस्तै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले ट्विट गर्दै पूर्व राष्ट्रपति कलामको निधनमा दुखित भएको बताएका छन्। ‘यो खबर सुनेर मस्तब्ध भएको छ। डाक्टर एपीजे अब्दुल कलाम रहेनन्। देशले एक सच्चा भारत रत्न गुमाएको छ।’
यस्तै विदेश मन्त्री सुषमा स्वराजले महान आत्माको चिरशान्तिको कामना भनेकी छन्।