संविधानको मस्यौदा जलाएर शनिबारदेखि सुरु गरिएको हिन्दू राष्ट्र घोषणा हुनुपर्ने मागसहितको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्न खोज्दा सोमबार दिउँसो इटहरी चौक तनावग्रस्त बनेको छ।
संविधानमा हिन्दू राष्ट्र लेखिनुपर्ने, धर्म परिवर्तन बन्द गर्नुपर्ने, गाई मार्न बन्द हुनुपर्नेलगायतका माग गर्दै इटहरीको मुख्य चौक घेरेर सवारी आवागमन ठप्प पारेका आन्दोलनकारीलाई प्रहरीले आज तितरवितर गर्न खोजेको थियो।
हात बाँधेर मुख्य राजमार्ग अवरुद्ध पारेर बसेकाहरुलाई खेद्न खोज्दा आन्दोलनका अगुवा श्रीनिवासाचार्य ठूलो समुह लिएर प्रहरीतर्फ पुगेपछि प्रहरी सहायक मार्ग पसेको थियो। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी विनोद शर्माले नेपालको राष्टि्रय झण्डा बोकेको एक जना युवाको झण्डा खोसेपछि आन्दोलनमै सहभागि एक महिलाले ‘राष्टि्रय झण्डा मेरो पनि हो, झण्डा चाहियो' भन्दै विरोध जनाएकी थिइन्।
विरोध जनाउने महिलालाई डीएसपी शर्माले ‘कुन झण्डा?' भन्दै धकेलेपछि महिलालाई हात लगाएको भन्दै आन्दोलनकारीले विरोध जनाएका थिए। सर्वसाधारणले झण्डै ३० को हाराहारीमा रहेका प्रहरीलाई घेराबन्दीमा पारेका थिए। झण्डै एक हजार जना आन्दोलनकारीसमक्ष ५० को हाराहारीमा रहेका प्रहरीहरु निरिह देखिन्थे। ढुंगामुढाको अवस्था सृजना हुन लागेपछि प्रहरी पछि सरेको थियो।
धार्मिक गुरु श्री निवासाचार्य र वैदिक सनातन हिन्दू राष्ट्र नेपाल संयुक्त संघर्ष समितिका संयोजक कुमार थापाले संयुक्त रुपमा मस्यौदा जलाउँदै हिन्दू राष्ट्र घोषणा नभएसम्मका लागि आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनकारीले दैनिक दुई घण्टा इटहरी चौक ठप्प पार्दै आन्दोलन गर्दै आएका छन्।
आन्दोलनमा पुरुषको भन्दा महिलाहरुको संख्या बढी छ। महिलाहरु ठाउँ ठाउँमा समुह बनाएर भजन किर्तन र नाचगानमा सहभागि हुने गरेका छन्।