एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आफूलाई धर्म निरपेक्ष पार्टीका रुपमा चित्रित गरे पनि अधिकांश हिन्दु धार्मिक संस्थाहरु उक्त दललाई हिन्दु धर्म विरोधी मात्र नभएर इशाई धर्म समर्थक भएको मान्छन् ।
सम्भवतः त्यसैले होला उक्त पार्टीका केही वरिष्ठ नेताहरु विभिन्न धर्म र सम्प्रदायका बैठकहरुमा खुला या गोप्य रुपमा जान थालेका छन् । एनेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिव महिमाका हिसाबले महत्वपूर्ण मानिने ‘बोलबम’ अभियानमा सहभागी काँवरियाहरुको कार्यक्रममा सहभागी भई उनीहरुको शिव दर्शन कार्यक्रमको सफलताको कामना गरेका थिए । नेकपा एमालेका नेता माधवकुमार नेपालले त्यस्तै कार्यक्रममा सहभागी भएको केही दिनमै प्रचण्ड निधारमा पीताम्बरी रुमालको पट्टी बाँधी काँवरियाहरुबीच आश्रित भएका थिए ।
‘हिन्दु–खस’ वर्चस्व समाप्त गर्न नेपाललाई हिन्दु राष्ट्रको सट्टा धर्म निरपेक्ष बनाउने अभियानको सफल नेतृत्व गरेको माओवादी निर्वाचन घोषणा र आचारसंहिता लागू भएपछि विविध धर्म र मतको समर्थन हासिल गर्न जुटेको देखिन्छ, यद्यपि निर्वाचन आयोगले सार्वजनिकरुपमा भएका यी कार्यक्रमबारे कुनै प्रतिक्रिया या आपत्ति जनाएको छैन अहिलेसम्म । तर, दाहालका सहयोगी तथा एनेकपा माओवादीका अर्का वरिष्ठ नेता कृष्णबहादुर महरा भने राजनीतिमा धर्मै घुसाएको आरोपमा विवादमा तानिएका छन् ।
साउन १२ गते नेपालगञ्जस्थित ‘ग्रोस्वल एसेम्ब्ली’ चर्चमा उपस्थित भई रीतिपूर्वक उनले त्यहाँका पास्टर केबी बसेलसँग आशीर्वाद लिएको फोटो पत्रकार दिपेन्द्र खड्काले आइतवार या घटनाको झन्डै दुई साता पछि फेसबुकमा राखिदिएपछि महरा चर्चामा आएका छन् । अनेक टिप्पणीकर्ताहरुले यसलाई धर्म र राजनीतिको वरपरका रुपमा लिएका छन् । महरासँग उक्त कार्यक्रममा चर्चमा उपस्थित बाँकेका एनेकपा माओवादी नेता डम्बर तुफान भने यी टिप्पणी र फोटोले जन्माएका आशंकालाई कुव्याख्या नगर्न र सही परिप्रेक्ष्यमा बुझ्न आग्रह गर्छन् ।
‘चुनाव प्रचारका क्रममा धर्मबारे हाम्रो पार्टीको मान्यता बुझाउन हामीले विभिन्न धर्मावलम्बीहरुसँग अन्तरक्रिया गर्र्यौं । चर्चका पदाधिकारीहरुले त्यहाँभित्रै हामीलाई आमन्त्रण गरी उनीहरुको मान्यताअनुसार प्रार्थनाबाट मात्र कार्यक्रम सुरु गर्नुपर्ने आग्रह गरेपछि महारानीले प्रार्थना मन्त्रमा हात जोड्नु भयो, पास्टरले र गुरुआमाले आर्शिर्वाद स्वरुप उहाँको शिरमा हात राख्नुभयो,’ तुफानले सेतोपाटीलाई भने ।
'गुरुद्वारामा भन्दा त्यहाँको चलनअनुसार उहाँले रुमालले शिर ढाक्नुभयो,’ तुफानले थप स्पष्ट पार्दै भने । तर चिनियाँ व्यापारीसँग नेपालमा सरकार निर्माणका लागि ५० करोड रुर्पैँयाको मागसहितको कथित टेलिफोन वार्ता विवरण प्रकाशित भएपछि विवादमा आएका महरालाई यो पृष्ठभूमिले अरु विवादित बनाउने देखिन्छ ।
विश्व हिन्दु महासंघ, हिन्दु स्वर्यसेवक संघ आदि संगठनहरुले नेपाल धर्म निरपेक्ष बन्नुमा चर्च र माओवादीबीचको निकट सम्बन्धलाई जिम्मेवार ठहर्याउँदै आएका छन् । नेपालको हिन्दु राष्ट्र हैसियत फिर्ता हुनुपर्ने माग पनि उनीहरुले उठाउँदै आएका छन् । त्यस्तै सुझाव प्रचण्ड दुई महिनाअघि भारत जाँदा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले दिएका थिए । उक्त भेटघाटमा उपस्थित भाजपा विदेश विभागका अधिकारी विजय जोशीका अनुसार प्रचण्डले हिन्दुहरुको ‘इशाईकरण’ भइरहेको बारे आफू सचेत रहेको र त्यसमा केही गर्ने आश्वासन पनि सिंहलाई दिएका थिए ।
माओवादी आन्दोलनसँग चर्चको साँठगाँठ प्रमाणजन्य रुपमा स्थापित नभए पनि माओवादीका विविध आचरण र व्यवहारको विश्लेषण गरी उक्त आन्दोलन हिन्दु विरोधी भएको निष्कर्ष खासगरी सुरक्षा विज्ञहरुले गरेका छन् ।
सशस्त्र प्रहरी बलका एक पूर्वअतिरिक्त महानिरीक्षक नाम उद्धृत नगर्ने सर्तमा भन्छन्, ‘माओवादीले हिन्दु मन्दिर तोडे, दाङमा संस्कृत विश्वविद्यालयको दुर्लभ पाण्डुलिपिहरु सहितका ग्रन्थ जलाए र गाई तथा गोरु काटी भोज खुवाउने गरे, किरियामा बसेका मानिसहरुलाई मारे भने भने धर्म परिवर्तनलाई रोक लगाएनन् ।'
नेपाल इशाई संगठनद्वारा केही महिनाअघि जारी तथ्याङ्कमा मुलुकमा ८ हजार ५ सय चर्चहरु र २५ लाख अर्थात् झण्डै १० प्रतिशत इशाई जनसंख्या रहेको दाबी गरिएको छ । पछिल्लो जनगणनाको तथ्यांकअनुसार नेपालमा करिब ३ लाख ७५ हजार इशाई जनसंख्या छ जुन १ दशमलव ४ प्रतिशत हो ।
महराको चर्च यात्रा सम्भवतः निर्वाचनमा धर्मको प्रभाव स्वीकार गर्दै भएको हो । यता, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (नेपाल) ले मुलुकलाई हिन्दुराष्ट्र घोषित गर्नुपर्ने माग उठाउँदै आएको हो ।


.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
सबै तस्विर सौजन्य: ज्ञानु गौतम