नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले जनताले चाहेजस्तो नभएर पार्टीको दस्तावेजजस्तो संविधान आउन लागेको बताएकी छिन्। उनले संविधानमा केही पनि मिलेको नदेखिएकाले यो लागू हुनै कठीन रहेको बताइन्।
जीपी फाउन्डेसन विराटनगरमा शनिबार बिहान संवाददाताहरूसँग कुराकानी गर्दै कोइरालाले भनिन्, 'यो संविधान पोलिटिकल दस्तावेज देखिँदैछ, जनता र मुलुकको हितमा नहुने संविधानको कुनै अर्थ छैन, यो संविधान नआएकै राम्रो।'
संविधानको प्रस्तावना कहिल्यै परिवर्तन नहुने हुनुपर्नेमा परिवर्तनीय बनाइएको भन्दै कोइरालाले आक्रोश पोखेकी छिन्। उनले प्रस्तावना परिवर्तनीय सबै कुरा परिवर्तन भइराख्ने भएकाले जनआन्दोलनको म्याण्डेटअनुसारको संविधान नहुने बताइन्। 'प्रस्तावना परवर्तनीय बनाउँदा गणतन्त्र, धर्मनिरपेक्षता, लोकतन्त्र पनि परिवर्तन गर्ने हो भने के अर्थ भयो? जनआन्दोलनको म्यान्डेट के?,' उनले भनिन्, 'जनतालाई ठग्न खोजेको? यो नालायकीपन हैन?'
कोइरालाले संविधानको प्रस्तावना कहिल्यै पनि अपरिवर्तनीय हुनुपर्ने बताइन्। 'गणतन्त्र, लोकतन्त्र, संघीयता र बहुदलीय व्यवस्था भनेको जनताको आवाज हो, जनआन्दोलनको भावना हो,' कोइरालाले भनिन्, 'यी कहिल्यै परिवर्तन हुनुहुँदैन संविधानमा।' उनले विज्ञहरूको सरसल्लाह बिनै राजनीतिक पार्टीले जथाभावी तरिकाले संविधान ल्याउन लागेको बताइन्।
'विज्ञहरूको संलग्नताबिना पार्टीहरूले संविधान लेखेका छन्, दलहरूले संविधान बनाउने हैन,' उनले भनिन्, 'यसमा नागरिकता, एनआरएन, भाषा केही पनि मिलेको छैन।' संविधानमा थ्रेस होल्डको व्यवस्था कडाइसाथ लागू हुनुपर्ने उनले बताइन्। थ्रेस होल्ड व्यवस्था नराख्दा नेपालमा विदेशी हस्तक्षेप बढ्ने भन्दै कोइरालाले कडाइ गर्न जरूरी भएको बताइन्। 'विदेशी शक्तिको इशारामा नेपालमा साना साना पार्टी जन्मिने खतरा हुन्छ,' उनले भनिन्, 'विदेशी प्रभाव बढी पर्छ, अहिलेको संसदमा विदेशी प्रभाव देखिएको छ।'