नेकपा एमालेमा विवाद बढ्दै जाँदा यसको असर जिल्ला तहमा देखिन थालेको छ। अध्यक्ष केपी र वरिष्ठ नेताद्वय झलनाथ खनाल तथा माधव नेपाल समूहबीच बढेको विवादले समानान्तर गतिविधिको रूप धारण गर्न थालेको छ।
अध्यक्ष ओलीले आइतबार यहाँ आफू पक्षधरहरूको छुट्टै भेला गराएका छन्। खनाल–नेपाल पक्षधर अनुपस्थित कार्यक्रममा अध्यक्ष ओलीले कटाक्षसमेत गरे। ‘केपी ओलीलाई अध्यक्ष दिँदा एमाले ध्वस्त हुन्छ भन्थे,’ केहीअघि मात्र जिल्ला तहमा गठन गरिएको मदन भण्डारी स्मृति फाउन्डेसनद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा ओलीले भने, ‘खै केही भएन त। बरु केपी ओली अध्यक्ष भएपछि संविधान निर्माणको काम पो साकार हुन लाग्यो।’
फाउन्डेसनको पूर्वाञ्चलस्तरीय कार्यक्रममा ओली पक्षका पूर्वभरिका कार्यकर्ता थिए। आफ्नै जिल्लामा आयोजित कार्यक्रममा मोरङ अध्यक्ष महेश रेग्मी, केन्द्रीय सदस्य जीवन घिमिरेलगायत थिएनन्। उनीहरू पार्टी अध्यक्ष ओलीलाई स्वागत गर्न विमानस्थल पनि गएनन्।
गत असार ४ गते फाउन्डेसनको मोरङ कमिटी गठन गरिएको थियो। ओलीपक्षधर नेता घनश्याम खतिवडाको नेतृत्वमा बनेको यो कमिटीमा खनाल–नेपाल पक्षधर कोही छैनन्। यो कमिटी गठन गरेपछि ओलीपक्षधर र खनाल–नेपाल पक्षधर झन् असन्तुष्ट बनेका छन्।
खनाल–नेपाल पक्षधरका अनुसार फाउन्डेसन एकपक्षीय रुपले ओली पक्षले गठन गरेका हुन्। यो गठन गर्दा जिल्ला अध्यक्ष रेग्मीलाई जानकारी दिइएको थिएन। ‘पार्टीका नेता कार्यकर्ताको भेलामा म अध्यक्ष स्वयम्लाई जानकारी नदिई फाउन्डेसन गठन भएछ,’ मोरङ अध्यक्ष रेग्मीले भने, ‘त्यसपछि पार्टी अध्यक्ष आफैं आएर त्यही एकपक्षीय भेलालाई सम्बोधन गरेपछि पार्टीमा गुटबन्दी अध्यक्षबाटै सुरु गरिएको भन्ने प्रष्ट भयो।’
अध्यक्ष ओली आइतबार पार्टी अफिस गएनन्। शनिहाटस्थित मारवाडी सेवा सदनमा ओली पक्षधरको भेला थियो। नेतृ विद्यादेवी भण्डारी पनि सहभागी थिइन्। पार्टी सचिवाललाई ओली आउने कार्यक्रमबारे केही जानकारी नदिइएको अध्यक्ष रेग्मी बताउँछन्।
‘अधयक्ष भएपछि पहिलोपटक केपी कमरेड आउँदा हामी एयरपोर्टमा स्वागत गर्न पनि जान पाएनौं,’ रेग्मीले भने, ‘एकपक्षीय भेलालाई उहाँले त्यसरी सम्बोधन गर्नुहोला भन्ने पनि लागेको थिएन हामीलाई।’ फाउन्डेसनको यो कार्यक्रमबारे पनि आफू र सचिवालय कसैलाई जानकारी नआएको रेग्मी बताउँछन्।
फाउन्डेसन गठन हुँदा विशेषगरी ओली पक्षधर र पार्टीमा गुटबन्दी गर्नेलाई सहभागी गराइएको खनाल–नेपाल पक्षधरको आरोप छ। ‘अस्वस्थ र गुटगत गतिविधि गर्नेलाई कमिटीमा राखिएको छ,’ रेग्मीले भने, ‘पार्टी अध्यक्षले त सबैपक्षलाई मिलाएर लैजानुपर्ने हो तर उहाँले एकपक्षलाई मात्र सहयोग गरेको देखियो।’
मदन भण्डारीद्धारा प्रतिपादन गरेको एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)लाई लागू गराउन विशेषगरी आफूहरूको योगदान रहेको खनाल–नेपाल पक्षधर बताउँछन्।
केन्द्रीय सदस्य जीवन घिमिरेले आफूलाई नेताहरू आउँदा जानकारी हुने गरेको तर अध्यक्षको आगमन र कार्यक्रमबारे थाहा नदिइएको बताए। ‘नेताहरु आउँदा जाँदा मलाई थाहा हुने गथ्र्यो,’ नेपाल पक्षधर घिमिरेले भने, ‘केन्द्रीय कार्यालय र सचिवालले पनि जानकारी दिएको थिएन।’
ओली पक्षधरले भने जानकारी गराउँदा समेत खनाल–नेपाल पक्षका नेताहरू नआएको बताएका छन्। ‘फाउन्डेसनका केन्द्रीय उपाध्यक्ष गुरु बराल आफैंले फोन गरेर बोलाउनुभएको हो,’ फाउन्डेसन मोरङ अध्यक्ष घनश्याम खतिवडाले भने, ‘नआएपछि त के गर्नु ?’ उनका अनुसार फाउन्डेसन गठन कार्यक्रममा बोलाउँदा पनि खनाल–नेपाल पक्षधर आएनन्।
अध्यक्ष ओलीले लामो सम्बोधनमा फाउन्डेसन असमानता हटाउने संस्था भएको बताए। यसलाई गुट नठान्न ओलीले सुझाए। ‘पार्टीले गर्न नसकेका रचनात्मक काम यसले गर्ने हो,’ ओलीले भने, ‘कसैले यसलाई गुट ठान्छ भने त्यो बिचरा हो।’