सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानको अन्तिम मस्यौदामा समेत मधेसको माग नसमेटिए दानापानी रोक्ने गरी काठमाडौंलाई नाकाबन्दी आन्दोलन गर्ने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले आफूहरुले संविधानसभा र काठमाडौ छाड्ने निर्णय गरेर अरु दलहरुलाई पनि प्रस्ताव राखिसकेको जानकारी दिदै अब हुने मधेस आन्दोलन नेपालको ईतिहासमा कहिल्यै नभएको आन्दोलन हुने ठोकुवा गरे।
साक्षात्कारमा महताले भने– अन्तिम मस्यौदासम्म कुर्छौ। त्यसमा पनि हाम्रो भावना सम्बोधन भएन भने संविधानसभा त्यागेर काठमाडौंको केन्द्रीय कार्यालयमा तालाबन्दी गरी काठमाडौको दानापानी बन्द हुने गरी नाकाबन्दी गर्छौ।
उनले आफूहरुको आन्दोलनमा भारत लगायत सारा दुनीयाँको समर्थन रहने दावी गर्दै भारत विगतका सहमति र सम्झौता अनुसार संविधान बन्नु पर्छ भन्नेमा स्पष्ट रहेको बताए।
महतोले भने–सारा दुनियाँको आग्रहमा भारतले मधेस आन्दोलनलाई सम्झौतामा टुङग्याउन मध्यस्थ गरेकोले सो सहमति अनुसार नभएपछि सम्झाउन भारतीय दूतावास गएका हौ। हामीलाई सम्झौतामा जानु पर्यो भनेर भारत आएको थियो। उनीहरु साक्षी किनारामा बसेका थिए। अहिले संघीयता र स्वायत्तता नदिने भनपछि हामीले के गर्ने? राजदुत रेले आफूहरुको मध्यस्थमा भएको सम्झौत बारे जानकार रहेको र संविधानको मस्यौदा सहमति अनुसार नआएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सहमतिमै संविधान जारी गर्न पटक पटक भनेको कुरा स्मरण गराउँदै भारत विगतका सहमति अनुसार संविधान जारी हुनु पर्नेमा स्पष्ट भएको बताए।
उनले थपे–प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड भारतीय दुतावास र दिल्ली जान हुने हामी भारतीय दुतावास जान नहुने?
उनले विगतमा सात संसदबादी र माओवादी गरी ८ दलको सतप्रतिसत सहमतिमा बनेको अन्तरिम संविधान विरुद्ध आन्दोलन भएको स्मरण गराउँदै अहिले ९० प्रतिसत मात्रै जनमत बोकेका दलहरुले बनाएको संविधान कहाँ जान्छ अहिले कसैले कल्पना गर्न नसक्ने दावी गरे। उनले भने–काग्रेस, एमाले र माओवादीलाई भोट दिने मधेसी जनता नै आन्दोलनमा आउँछन।
महतोले अहिलनै सीमांकन सहितको संघीयता संविधानमा नल्याए कहिल्यै पनि संघीयता नआउने ठोकुवा गर्दै चार दलले जवरजस्ती लागु गर्न खोजे पनि त्यस्तो संविधान लागु नहुने चेतावनी दिए।
मस्यौदाले मधेसमाथि संबैधानिक कु गरेको आरोप लगाउँदै उनले बेईमान दलहरुले मुलुकलाई राष्ट्रघात तर्फ लगेको टिप्पणी गरे।
उनले अहिलेकै मस्यौदा अनुसार संविधान बने मधेसलाई ५० वर्ष पछाडि धकेल्ने र मधेस आन्दोलनका सबै उपलब्धि समाप्त पार्ने दावी गर्दै दलहरुले सिमांकन कोर्न नसक्ने संघीयता कुन ग्रहको मानिस आएर कोर्ने भनि प्रश्न गरे। महतोले यसलाई संघीयता नदिने षडयन्त्रको संज्ञा दिए।
महतोले स्वायत्तताको लागि चाहिएको प्रदेशलाई विकास क्षेत्र, अञ्चल र जिल्ला जति पनि अधिकार नदिएको दावी गर्दै अधिकार विनाको संघीयता आफूहरुलाई मान्य नहुने बताए।
उनले मस्यौदाले मधेसी जनताको चाहना अनुसारको जनसंख्याको आधारमा प्रतिनिधित्व हुन नसकेको, विदेशबाट विवाह गरेर आएकाका सन्तानले अंगिकृत नागरिकता पाउने ब्यवस्थाले मधेसीहरु कहिल्यै पनि प्रधानमन्त्री, राष्ट्रपति, न्यायधिस र संबैधानिक आयोगका प्रमुख बन्न नसक्ने गरी षडयन्त्र गरिएको दावी गदै बाहिरबाट आएका नेपाली मुलकलाई बंशजको आधारमा नागरिकता दिने ब्यवस्था गरेपछि अब नेपाल पहाडियाको मात्र मुलुक हो भनेर घोषणा गर्न मात्र बाँकी रहेको ठोकुवा गरे।