नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान निर्माण प्रक्रियामा संसारको समर्थन रहेको बताएका छन्। विराटनगर विमानस्थलमा आइतबार संवाददाताहरूसित कुरा गर्दै अध्यक्ष ओलीले सबैतिरको समर्थनकै कारण संविधान निर्माण सफलतातिर गइरहेको बताए।
‘भरसक साउन १५ गते नै नयाँ संविधान जारी गर्ने प्रयास गरिन्छ,' अध्यक्ष ओलीले भने, ‘साउन १५ मा संविधान नआए १६ गते पनि त हुनसक्छ।’
अध्यक्ष ओलीले संविधान निर्माणको विपक्षमा दुई दर्जनजति मात्रै रहेको दाबी गरे। ‘हामी प्रमुख पार्टी र संस्था एकैठाम छौं,' अध्यक्ष ओलीले भने, ‘मस्यौदाको काम आज या भोलि सकिन्छ, त्यसपछि जनतामा जान्छ।'
संसद् अबरोध समेत हटिसकेकाले अब कुनै कठिनाई नरहेको बताए। ‘जनतामा जान्छ, जनतासँग छलफलपछि परिमार्जनसहितको संविधान ल्याउँछौं,' अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले २००७ सालदेखि नै नेपाली जनताले संघर्ष गर्दै आएको तर परिवर्तन संस्थागत गर्न नसकेको बताए। ‘बल्ल परिवर्तनलाई संस्थागत गर्ने दिन आएको छ,' अधयक्ष ओलिले भने, ‘हामी लागेका छौं।'