संविधानसभामा मस्यौदामाथिको छलफल चलिरहेको बेला संसद अवरूद्ध गरेर मधेसी दलका नेताहरू लैनचौर पुगेका थिए।
भारतीय राजदूत रन्जित रेलाई आफ्नो कुराहरू राख्न भन्दै तराई मधेस लोकतान्त्रीक पार्टी, संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, संघीय सद्भावनाका नेताहरू शुक्रबार अपरान्ह भारतीय दुतावास पुगेका हुन्।
अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो कुरा प्रष्ट पार्ने अभियन सुरू गरेको भन्दै आफूहरु भारतीय राजदूतावास गएको तमलोपा उपाध्यक्ष हृदयस त्रिपाठी बताए।
बिबिसी नेपाली सेवासँग कुरा गर्दै त्रिपाठीले भने, उहाँहरू संविधान बनाउन एकदम लागि पर्नु भएको छ। तर केही मधेसवादी राजनीतिक दलहरू बाधक बनेका छन्। जस्तो संविधानको मस्यौदा च्यात्ने नारा लगाउने जस्ता कामहरू गरेको हुनाले कठीनाइ उत्पन्न गरेका छन्। एक ढंगले उहाँहरूले अन्तर्राष्ट्रिय समुदायलाई कन्भिन्स गराउनु भएको रहेछ। उक्त कुरा हामीले थाहा पाएपछि हाम्रा कुरा पनि अन्तर्राष्ट्रिय समुदायमा क्लियर पार्न दूतावास पुगेका हौ।’
दुतावास पुग्नु अघि उनीहरु तमलोपाको कार्यालयमा यसबारे छलफल गरेका थिए।
तमलोपाबाट अध्यक्ष महन्थ ठाकुर, हृदयस त्रिपाठी सहित संघीय समाजवादी फोरम नेपालबाट रत्नेश्वरलाल कायस्थ, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, उपाध्यक्ष लक्ष्मणलाल कर्ण र संघीय समाजवादीका अनिल झा थिए।
यस्तै दुतावास पुग्नेमा नेकपा (माओवादी) का मातृकाप्रसाद यादव र नेपाली कांग्रेसका सभासद अमेरश कुमार सिंह र तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकास प्रसाद गुप्ता पनि दुतावास पुगेका थिए।
कांग्रेस, एमाले र एमाओवादी मिलेर हाम्रो बारे अन्तर्राष्ट्रिय समुदालयमा भ्रम फैलाए यही कुरा बुझाउन हामी दूतावास आएका हौ, बिबिसीसँगको कुराकानीमा त्रिपाठीले भने।
दलहरूले फाष्ट्रयाकको नाममा अन्तरीम संविधानको मर्म विपरीत, विगतमा भएका सहमति र अदालतको आदेशको उल्लङघन गरेर अघि बढेको विषयमा आफूहरुको असहमति रहेको त्रिपाठीले भने।
दुतावासमा राजदूतले राखेको जिज्ञासाबारे आफूहरूले गुनासा राखेको त्रिपाठीले बताए।
‘हामी आफ्नो कुरा राख्न गएका थियौ। हाम्रो पोजिशन यो हो हाम्रो बारेमा लागेका आरोपहरू यस्ता हुन् भनेर हामी आफ्नो पोजिशन बुझाउन उहाँलाई भेट्न गएका हौ,’ त्रिपाठीले भने।
अझै पनि अरू दूतावासमा गएर पनि हाम्रा कुराहरू राख्ने उनले बताए।
मधेस केन्द्रीत दलहरुले संविधान निर्माणको विषयमा चार दलबीच भएको १६ बुँदे सहमतिको विरोध गर्दै आएका छन्। उनीहरुले संविधान सभामा छलफलको लागि पेस भएको संविधानको पहिलो मस्यौदामा विरोध जनाउँदै च्यातेका थिए।