इलाका प्रहरी कार्यालय कञ्चनपुर र पूर्व क्षेत्रीय प्रहरीको संयुक्त टोलीले सप्तरीको बरमझियामा रहेको पेडा पसलबाट लागुऔषधसहित पसल सञ्चालकलाई पक्राउ गरेको छ ।
सप्तरीको त्रिकोल गाविस–८ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने बरमझियास्थित श्री बाबा वैद्यनाथ पेडा पसलमा गोप्य सूचनाको आधारमा छापा मारी लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने ३२ वर्षीय राजकुमार गुप्ता हुन् । पेडा पसलमा लागुऔषध बिक्री वितरण हुने गरेको सूचना पाएपछि प्रहरीले पसलमा छापा मारेको हो ।
गुप्ताको पसलबाट ११९ थान नाइट्रोजन, ८४ क्याप्सुल स्पास्मोप्रोक्सिवन, दुई बोतल कोरेक्स र दुई थान मोबाइल फोन बरामद गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज थापाले बताएका छन्।
प्रहरीका अनुसार गुप्ताले पूर्व–पश्चिम राजमार्गमा चल्ने लामो दूरीका रात्रि बसका चालक तथा सहयोगी चालकलाई लागुऔषध बिक्री वितरण गर्ने गरेको प्ररम्भिक अनुसन्धानबाट खुल्न आएको हो । रासस