प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको प्रक्रिया सुरु भइसकेकाले अब कसैले रोक्न नसक्ने बताएका छन्।
जापान सरकारको अनुदानमा निर्माण भएको बनेपा–सिन्धुली–बर्दिवास बिपी राजमार्गको बिहिबार धुलिखेलमा भएको नेपाललाई हस्तान्तरण कार्यक्रममा उनले भने, “अब संविधान आउँछ, आउँछ ।”
प्रधानमन्त्री कोइरालाले मुलुकमा सङ्घीय गणतन्त्रको स्थापना सामान्य विषय नभएको उल्लेख गर्दै जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने समय आउन लागेको छ बताए। उनले मुलुकमा सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारशून्य अवस्था भए अबको १० वर्षमा नै मुलुकमा कायापलट हुने दाबी गरे।
अहिले नयाँ निर्माण हुन लागेको संविधानको महत्व धेरै भएकाले संविधान बन्न नसकेका कारण देशमा विकास निर्माणका काम हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले मधेसी मोर्चालाई सङ्घीयताका विषयमा शङ्का नगर्न आग्रह गरे।
उनले सङ्घीयतामा सबै दलको प्रतिबद्धता आइसकेकाले द्वन्द्व र आन्दोलनमा नफस्न मधेसी मोर्चालाई आह्वानसमेत गरे। प्रधानमन्त्री कोइरालाले मुलुकमा शान्ति, स्थायित्व र अमनचयन कायम भए मुलुकले चाँडो गति लिने विश्वास व्यक्त गरे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले बनेपा–सिन्धुली–बर्दिवास सडकमा कस्तो सवारीसाधन सञ्चालन गर्ने विषयमा प्राविधिक परिक्षण हुने जानकारी दिँदै सडकलाई व्यावसायिक बनाएर ठूला सवारीसाधन सञ्चालन भए सडक छिट्टै क्षतिग्रस्त हुन सक्छ बताए।
उनले सडकलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा समेत प्राविधिक टोली बनाइने उल्लेख गर्दै प्रायः मुलुकका सबै सदरमुकाम सडकसँग जोडिएको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले थानकोट–नागढुङ्गा सडकखण्डको सम्भाव्यता अध्ययन पूरा भएको उल्लेख गर्दै भक्तपुरदेखि धुलिखेलसम्म छ लेनको सडक नापजाँच कार्य भइरहेको बताए।
नेपालका लागि जापानी राजदूत मासासी ओगावाले सडक निर्माण कार्य सम्पन्न गर्न एक जापानी इन्जिनियरसमेत परिचालन भएको बताए। उनले आगामी दिनमा पनि जापान सरकार सडक निर्माणका अन्य काममा पनि लगानी गर्न इच्छुक भएको बताए।
विसं २०५३ देखि सडकको निर्माण कार्य सुरु भएको २० वर्षको अवधिमा सडक निर्माणकार्य सम्पन्न भएको हो । कुल १६० किलोमिटर लम्बाइमा निर्माण भएको उक्त सडकमा २६ अर्ब जापानी येन लगानी भएको छ । रासस