नयाँ संविधानको मस्यौदाले राज्यका हरेक अङ्गमा महिलाको समान सहभागिताको जग बसाल्ने सुनिश्चितता गरेको भन्दै अखिल नेपाल महिला सङ्घ (अनेमसं)ले त्यसको स्वागत गरेको छ ।
बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सङ्घकी अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारीले मुलुक लामो समयदेखि अनिर्णयको बन्दी भएको अवस्थामा संविधानको मस्यौदा आउनु सकारात्मक सुरुवात भएको भन्दै आफूले यसलाई एउटा उपलब्धिको रुपमा लिएको बताइन्। “ढिलै भए पनि मस्यौदा आएको छ, यो खुसीको कुरा हो, अब मुलुक अनिर्णयको बन्दी हुनबाट बचेको छ”, उनले भनिन्।
मस्यौदामा सङ्घीय प्रतिनिधिसभा र प्रदेशसभामा महिलाको एक तिहाइ सहभागिता सुनिश्चित भएको, स्थानीय निकायमा ४० प्रतिशत सहभागिता गराइएको, महिला आयोगलाई संवैधानिक मान्यता दिएको, आमाको थर वा उपनाम राख्ने प्रावधानलगायतका कुरा उपलब्धिमुलक भएकाले यसलाई स्वागत गरिएको सङ्घका प्रचार विभाग प्रमुख शान्ति अधिकारीले बताइन्।
प्राप्त उपलब्धिहरुमा थपघट गर्ने विषय धेरै भए पनि यी उपलब्धि पटक–पटकको महिला आन्दोलनबाट प्राप्त भएको हुनाले यसलाई प्राप्त गरी पूर्ण अधिकारका लागि थप सङ्घर्षमा जाने महिला सङ्घको भनाइ छ । रासस