तस्विरः बिष्णु बुढाथोकी
एमाओवादीका नेता डा बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेटलाई कर्मकाण्डी नबनाउन आग्रह गरेका छन्।
बुधबार बजेटमाथि पूर्व छलफल गर्दै भट्टराईले प्रश्न गरे, ‘यो बजेट कर्मकाण्डी त हुँदैन?’
‘यदि यो कर्मकाण्डी हुन्छ भने यहाँ मलाई बोल्ने जाँगर लाग्दैन। तसर्थ अर्थमन्त्रीले त्यस्तो नगर्नुहोस् भन्ने आग्रह गर्छु।’
‘हामीले आर्थिक गतिको प्राथमिकता र सिद्धान्त स्पष्ट नभइ हुँदैन। अब सर्पको जस्तो गतिले हुँदैन छलाङ मार्नु पर्ने आवश्यकता छ,’ भट्टराईले भने,‘तर हामीले यो गति लिन सकेनौं।’
‘गत ४० वर्षको विकास गति हेर्दा हामी औसतमा ३ प्रतिशतको विकास गतिमा गएका छौ। यो वर्ष हामीले संविधान बनाउनेसँगै भूकम्पले पारेको विनासमा नवनिर्माण गर्न ठूलो लगानी गर्नमा सिद्धान्त र प्राथमिकतामा अघि बढ्नसके हामीले अवसरको रुपमा छलाग मार्न सक्छौ,’ भट्टराईले भने।
अहिले सरदरमा प्रतिव्यक्ति आय दैनिक २ डलर छ। हामीले वार्षिक ७ सय डलरलाई कम्तिमा तीनवर्षभित्र ३ हजार डलरमा पुर्याउनै पर्छ।
किसानसहितको कुरा गर्दा ६० प्रतिशत पूर्ण या अर्ध बेरोजगार छन्।
हामीले आयत गर्दा ९ गुणा बढी छ। पहिले हामीले पाँच गुणा बढी आयातभन्दा निर्यात बढी थियो। यसैले व्यापार घाटा कम गर्नुपर्छ।
समाजमा विद्यमान असमानता र विभेद हलगर्ने गरी आर्थिक नीति र बजेट बनाइ भूकम्पको नवनिर्माणमा जानुपर्छ।
अहिले हामीबीचको पूजीबादी समाजवादी भन्ने लडाइ छैन। सबैले समाजवाद उन्मूख पूजीवादमा अघि बढेको अवस्थामा हामीले अहिले समावेशी लोकतन्त्रतर्फ जानुपर्छ।
सरकारले यो वर्ष भूकम्पको पुननिर्माणमा नै प्राथमिकता हुनुपर्छ। त्यसका लागि पुननिर्माण प्राधिकरणबाटै कार्यक्रम र पूर्वाधार निर्माणको योजना अघि बढाउनुपर्छ।
लाखौं युवालाई विदेशबाट नेपालभित्रै नवनिर्माणका लागि परिचालनको अवस्था सृजना गर्नुपर्छ।
अर्थमन्त्रीले पेश गरेको अवधारणामा प्राथमिकता कुन हो भन्ने पत्ता लगाउन हनुमानले सञ्जिवनी बुटी चिन्न नसकी पहाडै बोके जस्तो भयो। अब पहिलो प्राथमिकता कृषि क्षेत्रकै विकासमा दिनुपर्छ। त्यसका लागि कृषि क्षेत्रका लागि अहिले १० प्रतिशत बजेट विनियोजन गरी १५ देखि २० प्रतिशत पुर्याउने लक्ष्य राख्नुपर्छ।
दोस्रो भौतिक पुननिर्माणलाई प्राथमिकता दिँदै सडक सञ्जाल गर्नुपर्छ। हामीले अहिले घरमा सडक लैजाने भन्दा पनि सडकमा घर ल्याउने कार्यक्रम ल्याउनुपर्छ।
उर्जामा लगानी तेस्रो र शिक्षा र स्वास्थ्यमा चौथो प्राथमिकता दिँदै त्यहि ढंगले विनियोजन र लगानी गर्नु जरूरी छ। पाँचौमा उद्योग र पर्यटन नै हो। त्यसका लागि स्वदेशी र विदेशी लगानी बढाउने वातावरण बनाउनैपर्छ।
वार्षिक बजेट असारमा गर्ने प्रचलन अन्त्यगरी बहुवर्षिय योजना बनाउनुपर्छ। र्क्मचारीको तलबमा पनि आवश्यक मात्रा व्यवस्था गर्नुपर्छ।